वीरगञ्ज । प्रतिनिधिसभा सदस्य रामाकान्त प्रसाद चौरसियाले आफ्नो निर्वाचन क्षेत्र पर्सा–३ अन्तर्गत पकाहा मैनपुर गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्।

चौरसियाले गाउँपालिका वडा नं. १, २, ३ र ४ अन्तर्गत पर्ने धोरे, सुर्जाहा, पकाहा, कटी, मानीपुर, लाहार्थकरीलगायतका बस्तीमा पुगेर स्थानीय नागरिकका समस्या, आवश्यकता तथा सुझाव सुनेका हुन्।

भेटघाटका क्रममा स्थानीयले सडक, शिक्षा, स्वास्थ्य, खानेपानी तथा अन्य आधारभूत सेवासम्बन्धी विभिन्न विषय उठाएका थिए। सांसद चौरसियाले जनताबाट प्राप्त सुझावलाई विकास योजनाको प्राथमिकतामा राख्दै आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले निर्वाचनअघि गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा कार्यान्वयन गर्दै क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार तथा जनजीविकासँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकताका साथ अघि बढाइने बताए।

सांसद चौरसियाले जनतासँगको प्रत्यक्ष संवादलाई निरन्तरता दिँदै विकास निर्माणका कार्यलाई प्रभावकारी रूपमा अघि बढाउने र समृद्ध निर्वाचन क्षेत्र निर्माणका लागि सबै पक्षसँग सहकार्य गरेर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।


