वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले नियन्त्रणमा लिएपछि वीरगञ्जमा आन्दोलन चर्किएको छ। वडाध्यक्षको रिहाइको माग गर्दै मंगलबार महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट प्रदान गरिने नियमित सेवा पूर्ण रूपमा बन्द गरिएको छ भने वीरगञ्ज–पोखरिया सडकखण्डमा स्थानीयवासीले धर्ना दिँदै सडक अवरुद्ध गरेका छन्। आन्दोलनमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश पटेलसमेत सहभागी भएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार गत साउन ९ गते नारायणी अस्पतालमा भएको तोडफोड तथा चिकित्सकमाथि भएको कुटपिट घटनाको अनुसन्धानका क्रममा वडाध्यक्ष चतुर्वेदीलाई मंगलबार दिउँसो वीरगञ्ज महानगरपालिका परिसरबाट नियन्त्रणमा लिइएको हो। हाल उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वीरगञ्ज–२५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि आक्रोशित समूहले अस्पतालमा तोडफोड गर्नुका साथै चिकित्सक डा. प्रमोद राममाथि कुटपिट गरेको आरोप छ। उक्त घटनापछि दोषीमाथि कानुनी कारबाही र चिकित्सकको सुरक्षाको माग गर्दै वीरगञ्जसहित देशका विभिन्न स्थानका चिकित्सक आन्दोलनमा उत्रिएका छन्, जसका कारण उपचार सेवा समेत प्रभावित भएको छ।

यता, वडाध्यक्ष चतुर्वेदीको पक्राउको विरोधमा वीरगञ्ज महानगरपालिकाका सबै वडाध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै बिना शर्त तत्काल रिहाइको माग गरेका छन्। जननिर्वाचित प्रतिनिधिलाई पक्राउ गर्नु जनप्रतिनिधिको अधिकार र भूमिकामाथिको हस्तक्षेप भएको उनीहरूको दाबी छ। माग पूरा नभए चरणबद्ध आन्दोलनलाई थप सशक्त बनाइने चेतावनी पनि विज्ञप्तिमार्फत दिइएको छ।
विज्ञप्तिमा साउन ९ गते नारायणी अस्पतालमा उत्पन्न परिस्थितिका बेला वडाध्यक्ष चतुर्वेदी पीडित परिवारको गुनासो सम्बोधन गर्न तथा स्थानीय प्रशासनसँग समन्वय गरी समस्या समाधान गर्ने प्रयासमा रहेको उल्लेख गरिएको छ। त्यही क्रममा उनलाई पक्राउ गरिएको भन्दै वडाध्यक्षहरूले यसलाई लोकतान्त्रिक अभ्यासविपरीतको कदमको संज्ञा दिएका छन्।

त्यस्तै पक्राउको विरोधमा मंगलबार महानगरपालिकाका ३२ वटै वडा कार्यालयको नियमित सेवा बन्द गरिएको छ। साथै वीरगञ्ज–पोखरिया सडकखण्डमा स्थानीयवासीले धर्ना दिँदै सडक अवरुद्ध गरेका छन्। आन्दोलनमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री रमेश पटेलको सहभागिताले आन्दोलनलाई थप राजनीतिक समर्थन प्राप्त भएको देखिएको छ।
प्रहरीका अनुसार नारायणी अस्पताल घटनासम्बन्धी अनुसन्धानका क्रममा वडाध्यक्ष चतुर्वेदीसहित हालसम्म तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ। उता आन्दोलनरत पक्षले पक्राउ परेका वडाध्यक्षलाई तत्काल रिहा गरी संवाद र सहमतिमार्फत समस्या समाधान गर्न स्थानीय प्रशासनसँग आग्रह गरेको छ।


