Lucky-Khabar_

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

वीरगञ्ज|वीरगञ्ज महानगरपालिका–२५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीलाई प्रहरीले पक्राउ गरेको विरोधमा महानगरका ३२ वटै वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ।

content ad p2

महानगरका सबै वडाध्यक्षहरूले संयुक्त रूपमा निर्णय गर्दै साउन १३ गतेदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण प्रशासनिक सेवा स्थगित गरेका हुन्। उनीहरूले पक्राउ परेका वडाध्यक्ष चतुर्वेदीको तत्काल रिहाइको माग गरेका छन्।

विज्ञप्तिअनुसार, गत साउन ९ गते नारायणी अस्पतालमा उपचारका क्रममा वडा नं. २५ निवासी राजकुमार कुर्मीको मृत्यु भएपछि उत्पन्न विवादका क्रममा पीडित परिवार र प्रशासनबीच न्यायसम्मत समाधानका लागि पहल गरिरहेका बेला वडाध्यक्ष चतुर्वेदीले आफ्नो धारणा राखेका थिए। सोही विषयलाई आधार बनाएर प्रहरीले उनलाई महानगरपालिका कार्यालय परिसरबाटै पक्राउ गरेको आरोप वडाध्यक्षहरूले लगाएका छन्।

नगरवासीको हकहितका पक्षमा आवाज उठाउने जनप्रतिनिधिलाई पक्राउ गरिएको भन्दै उनीहरूले घटनाप्रति गम्भीर आपत्ति जनाएका छन्। यसअघि साउन १२ गते संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चतुर्वेदीलाई तत्काल रिहा गर्न प्रशासनसँग माग गरिएको भए पनि कुनै सुनुवाइ नभएको उनीहरूको भनाइ छ।

प्रशासनले जनप्रतिनिधिको मागलाई बेवास्ता गरेपछि बाध्य भएर वडा कार्यालयका सेवा स्थगित गर्नुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। साथै, चतुर्वेदीलाई तत्काल स–सम्मान रिहा नगरिए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि दिइएको छ।

वडाध्यक्षहरूले आन्दोलनका कारण उत्पन्न हुने असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने बताएका छन्।

सेवा अवरुद्ध भएसँगै वीरगञ्ज महानगरपालिकाका ३२ वटै वडा कार्यालयबाट प्रदान गरिने सिफारिस, घटना दर्ता, प्रमाणपत्रलगायतका नियमित प्रशासनिक सेवा प्रभावित भएका छन्। यसबाट दैनिक सेवा लिन आउने सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यद्यपि, अत्यावश्यक सेवाहरू भने यथावत् सञ्चालनमा रहने जनाइएको छ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर

पर्सामा वडाध्यक्ष चतुर्वेदी पक्राउपछि वीरगञ्जमा आन्दोलन चर्कियो, वडा कार्यालयको सेवा बन्द र सडक अवरुद्ध

लक्की खबर