Lucky-Khabar_

सरकार–चिकित्सकबीच पाँच बुँदे सहमति, देशभरको चिकित्सक आन्दोलन फिर्ता

वीरगञ्ज । आन्दोलनरत चिकित्सक र सरकारबीच पाँच बुँदे सहमति भएपछि देशभर जारी चिकित्सक आन्दोलन फिर्ता भएको छ। सहमतिसँगै वीरगञ्जस्थित नारायणी अस्पतालसहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ।

content ad p2

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल चिकित्सक संघका पदाधिकारीबीच भएको छलफलपछि पाँच बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो।

सहमतिअनुसार सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ। साथै, ऐनको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक निर्देशिका शीघ्र तयार गर्ने, स्वास्थ्य संस्थामा हुने तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कानुनी कारबाहीलाई प्रभावकारी बनाउने तथा सम्बन्धित मन्त्रालयबीच आवश्यक समन्वय गर्ने सहमति भएको छ।

यस्तै, स्वास्थ्य संस्थाको सुरक्षा सुनिश्चित गर्न कार्ययोजना तयार गर्ने, नेपाल चिकित्सक संघसँगको सहकार्यमा संयुक्त कार्यदल गठन गर्ने तथा कार्यान्वयनको प्रगति नियमित रूपमा समीक्षा गर्ने व्यवस्था पनि सहमतिपत्रमा समावेश गरिएको छ।

सरकारसँग सहमति भएपछि नेपाल चिकित्सक संघले जारी राखेका आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्दै नियमित स्वास्थ्य सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणपछि सुरु भएको आन्दोलनका कारण देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा प्रभावित भएका थिए। आन्दोलन फिर्ता भएसँगै नारायणी अस्पतालसहित देशभरका अस्पतालमा ओपीडीसहित नियमित स्वास्थ्य सेवा पुनः सञ्चालन हुने भएको छ।

सम्बन्धित खबर

मन्त्रिपरिषद्का विभिन्न निर्णय सार्वजनिक:सरकारद्वारा ९ विधेयक संसद्मा पेश गर्न स्वीकृति

लक्की खबर

वीरगञ्जका ३२ वटै वडा कार्यालयका सेवा अनिश्चितकालका लागि ठप्प, पक्राउ परेका वडाध्यक्षको रिहाइको माग

लक्की खबर

चिकित्सकमाथि आक्रमण प्रकरणपछि पर्साका एसपीको काज सरुवा,नयाँ प्रहरी प्रमुख पवनकुमार भट्टराई

लक्की खबर