Lucky-Khabar_

पक्राउ आदेशपछि अनमोल साहको नागरिकतामाथि प्रश्न, बाबुको पहिचान र थरबारे छानबिनको माग

वीरगञ्ज । ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतबाट पक्राउ आदेश जारी भएका वीरगञ्जका अनमोल साहको नेपाली नागरिकता र पारिवारिक पहिचानबारे प्रश्न उठेको छ।

content ad p2

वीरगञ्ज महानगरपालिका–१० स्थित ठाकुरराम बहुमुखी क्याम्पस पछाडि प्लास्टिक उद्योग सञ्चालन गर्दै आएका अनमोललाई स्थानीयस्तरमा लामो समयदेखि ‘अनमोल छपोलीया’ भनेर चिनिँदै आएको बताइएको छ। तर, अदालतबाट जारी पक्राउ आदेशमा भने उनलाई वीरगञ्ज महानगरपालिका–१३ निवासी अनिल साह कानुका छोरा ३६ वर्षीय अनमोल साहका रूपमा उल्लेख गरिएको छ।

अदालतको आदेशमा उल्लेख भएको बाबुको नाम र स्थानीयस्तरमा रहेको पारिवारिक पहिचानबीच देखिएको भिन्नताले अनमोलले नेपाली नागरिकता लिँदा पेश गरेका कागजात, बाबुको पहिचान तथा थरसम्बन्धी विवरणबारे प्रश्न उठेको हो।

वीरगञ्ज महानगरपालिका–१७ निवासी सुनिता देवीको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा आपराधिक विश्वासघात मुद्दामा अदालतले अनमोललाई पक्राउ गर्न आदेश दिएको हो। आदेशमा उनका बाबुको नाम ‘अनिल साह कानु’ उल्लेख छ।

तर, स्थानीय रूपमा अनमोलका बाबु भनेर चिनिने व्यक्ति अनिल छपोलीया रहेको दाबी गरिएको छ। भारतको बिहारस्थित रामनगर (हरिनगर) निवासी रहेको बताइएका अनिलले आफू ‘छपोलीया साह’ भएको दाबी गरेका छन्।

अनिलले आफू भारतीय नागरिक भएको स्वीकार गर्दै अनमोल नेपालमै जन्मिएको र सोही आधारमा नेपाली नागरिकता लिएको दाबी गरेका छन्। तर, अनमोलको नागरिकतामा बाबुको नाम ‘अनिल साह कानु’ कसरी उल्लेख भयो भन्ने विषयमा भने स्पष्ट जवाफ दिन नसकेको बताइएको छ।

यसपछि अनमोलले नेपाली नागरिकता प्राप्त गर्दा अपनाइएको प्रक्रिया, नागरिकताको प्रकार तथा त्यस क्रममा पेश गरिएका प्रमाण र कागजातबारे छानबिन हुनुपर्ने माग उठेको छ।

यद्यपि, नाम, थर वा बाबुको विवरणमा देखिएको अन्तरका आधारमा मात्रै नागरिकता गैरकानुनी वा नक्कली भएको निष्कर्ष निकाल्न नमिल्ने कानुनी जानकारहरू बताउँछन्। नागरिकता प्राप्तिको प्रक्रिया कानुनअनुसार भएको थियो वा थिएन भन्ने कुरा सम्बन्धित समयमा लागू कानुन, सरकारी अभिलेख र पेश गरिएका कागजातको परीक्षणपछि मात्रै यकिन हुने विषय हो।

अदालतको पक्राउ आदेशपछि अनमोल साह फरार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले उनी फरार सूचीमा रहेको र खोजी भइरहेको जनाएको छ।

अब अनुसन्धानका क्रममा ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी आरोपसँगै अनमोलको नागरिकता प्राप्तिको प्रक्रिया, बाबुको पहिचान, नाम–थरसम्बन्धी विवरण तथा नागरिकता बनाउँदा पेश गरिएका कागजातको समेत परीक्षण हुन्छ कि हुँदैन भन्ने विषय चासोको विषय बनेको छ।

यदि अनुसन्धानबाट नागरिकता प्राप्त गर्ने क्रममा झुटा विवरण पेश गरेको वा किर्ते कागजात प्रयोग गरेको प्रमाणित भएमा सम्बन्धित कानुनअनुसार थप कारबाही हुन सक्नेछ।

तर, अदालतको पक्राउ आदेश, नागरिकतासम्बन्धी सरकारी अभिलेख तथा पारिवारिक पहिचानबीच देखिएको भनिएको अन्तरबारे अन्तिम निष्कर्ष सम्बन्धित निकायको अनुसन्धान र आधिकारिक अभिलेखबाट मात्रै स्पष्ट हुने देखिन्छ।

सम्बन्धित खबर

भारतीय राजदूत नवीन श्रीवास्तवलाई वीरगञ्जमा बिदाइ

लक्की खबर

बाढीपीडितका लागि शंकर ग्रुपको ४ करोड सहयोग, २ हजार ५ सय टार्पोलिन टेन्ट वितरण

लक्की खबर

पर्सागढी–४ मा कंस वध मेला–२०८३ सुरु:प्रमुख अथिति सांसद साहद्वारा उद्घाटन

लक्की खबर