वीरगन्ज । वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रमा अव्यवस्थित रूपमा छरिएका इन्टरनेट तथा टिभी केवलका तार व्यवस्थापन गर्ने अभियान सुरु गर्ने भएको छ।

महानगरपालिकाले बिहीबारदेखि पहिलो चरणको तार व्यवस्थापन अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। पहिलो चरणअन्तर्गत वीरगन्जको प्रमुख प्रवेशद्वार शंकराचार्य गेटदेखि छपकैयास्थित ईदगाह चौकसम्म सडक तथा सार्वजनिक स्थानमा अव्यवस्थित रूपमा रहेका तार हटाउने तथा व्यवस्थित गर्ने तयारी गरिएको छ।

महानगरपालिकाको प्रशासन शाखा प्रमुख विजय गुप्ताको अध्यक्षतामा बसेको सरोकारवालाको बैठकले तार व्यवस्थापन अभियान अघि बढाउने निर्णय गरेको हो। इन्टरनेट तथा टिभी केवल सेवा प्रदायक संस्थाहरूको सहभागितामा बसेको बैठकमा ७ वटा इन्टरनेट सेवा प्रदायक र एक टिभी केवल सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए।

बैठकमा महानगरपालिकाले पटक–पटक बोलाउँदा पनि अनुपस्थित हुने तथा तार व्यवस्थापन अभियानमा सहयोग नगर्ने सेवा प्रदायक संस्थालाई प्रचलित नियमअनुसार कारबाही गर्ने सहमति समेत भएको छ।नगरको सौन्दर्यीकरणसँगै सडक तथा सार्वजनिक स्थानको सुरक्षा र तारजन्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएको छ।


