Lucky-Khabar_

 वीरगञ्ज महानगरको बजेट २१ करोड घट्यो, विशेष नगरसभाबाट संशोधित बजेट पारित

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट संशोधन गर्दै २१ करोड रुपैयाँ घटाएको छ। बुधबार सम्पन्न २१औँ विशेष नगरसभाले ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँको संशोधित बजेट बहुमतबाट पारित गरेको हो।

content ad p2

यसअघि गत १० असारमा सम्पन्न २०औँ नगरसभाले चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको बजेट पारित गरेको थियो। त्यसबेला नगरप्रमुख राजेशमान सिंह निलम्बनमा रहेकाले उपप्रमुख इम्तियाज आलमको अध्यक्षतामा नगरसभा भएको थियो।

विशेष अदालतबाट सफाइ पाएपछि असोज ३ गते पुनः पदमा फर्किएका नगरप्रमुख सिंहले यसअघि पारित बजेट संशोधनका लागि विशेष नगरसभा बोलाएका थिए।

संशोधित बजेटमा चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ विनियोजन गरिएको छ।

महानगरका अनुसार संशोधित बजेटको स्रोततर्फ आन्तरिक राजस्वबाट १ अर्ब २७ करोड, संघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९८ करोड २९ लाख, संघीय राजस्व बाँडफाँटबाट २४ करोड ६८ लाख ८३ हजार, प्रदेश अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट ५ करोड २८ हजार, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ६७ लाख १४ हजार, घरजग्गा रजिष्ट्रेसन शुल्कबाट ४५ करोड र नगर विकास कोषबाट १५ करोड रुपैयाँ रहने उल्लेख छ।

नगरप्रमुख सिंहले आन्तरिक राजस्व परिचालनमा आएको संकुचन, वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटबाट अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसकेको र अनिवार्य चालु खर्च बढेकाले बजेट संशोधन गर्नुपरेको बताएका छन्।संशोधित बजेटमा घण्टाघर नजिक निर्माणाधीन बीपी उद्यानलाई वाक–वे, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तारसहित पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्ने योजना समेटिएको छ।

त्यस्तै ‘उज्यालो वीरगन्ज’ अभियानलाई निरन्तरता दिँदै मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलईडी र हाइमास्ट बत्ती जडान गर्ने, सडक करिडोर तथा डिभाइडरमा हरियाली प्रवद्र्धन गर्ने, खुला स्थानमा पार्क निर्माण गर्ने तथा अव्यवस्थित तार र होर्डिङ बोर्ड व्यवस्थापन गर्ने योजना बजेटमा राखिएको छ।

शिक्षातर्फ सार्वजनिक विद्यालयको दरबन्दी, विद्यार्थी संख्या र भौतिक संरचनाबीच तादात्म्य कायम गर्ने तथा भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ।यस्तै आधारभूत स्वास्थ्य केन्द्र, योग तथा ध्यान केन्द्र, खुला व्यायामशाला र पार्कलाई व्यवस्थित गर्ने तथा निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गर्ने योजना पनि संशोधित बजेटमा समेटिएको छ।

कांग्रेसको ह्वीपबीच विशेष नगरसभा

विशेष नगरसभामा उपप्रमुख इम्तियाज आलम सहभागी भएनन्। नेपाली कांग्रेस पर्सा जिल्ला कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै कांग्रेसबाट निर्वाचित उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन ह्वीप जारी गरेको थियो।

तर ह्वीपका बाबजुद कांग्रेसबाट निर्वाचित केही नगरसभा सदस्यसहित आवश्यक संख्याभन्दा बढी सदस्य विशेष नगरसभामा सहभागी भएका थिए। सार्वजनिक विवरणअनुसार १०२ जना सदस्य सहभागी भएको उल्लेख छ भने महानगर पक्षले ११८ जना सहभागी भएको जनाएको छ।

महानगरमा कायम १५६ नगरसभा सदस्यमध्ये बहुमतका लागि ७९ जना आवश्यक पर्ने भए पनि नगरप्रमुख सिंहले प्रस्तुत गरेको संशोधित बजेट बहुमतबाट पारित भएको महानगर पक्षले जनाएको छ।विशेष नगरसभा बोलाएर बजेट संशोधन गर्ने विषयमा उपप्रमुख आलमले यसअघि नै असहमति जनाएका थिए। बजेट संशोधनको विषयलाई लिएर नगरप्रमुख सिंह र उपप्रमुख आलम पक्षबीच मतभेद देखिँदै आएको छ।

सम्बन्धित खबर

परराष्ट्रमन्त्री खनाल र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट

लक्की खबर

वीरगञ्जमा महिलालाई तीनमहिने सिलाई कटाई तथा ब्युटिसियन तालिम

लक्की खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर