२७ पुस, काठमाडौं । पुर्व गृहमन्त्री तथा रास्वपा का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिने भएको छ ।लामिछानेलाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो ।

रविलाई आइतबार भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिनेछ । सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।
गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।
सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए ।
लगत्तै न्यायाधीश अधिकारीको इजलासमा बयान भएको थियो ।
रास्वपा अनुशासन आयोगका पूर्व उप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।
उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मामा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै प्रहरीकै जिम्मा दिनुपर्ने बताएको न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।




