१८ चैत,बिरगंज | चैत १५ गते राजवादी समूहको हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजकको हत्या र सञ्चार गृहहरूमा भएको तोडफोड तथा आगजनीका घटनाको दोषीलाई कडा कारबाही गर्नुपर्ने मागसहित पर्साका सञ्चारकर्मीहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल पत्रकार महासङ्घ पर्सा शाखाको नेतृत्वमा सोमबार जिल्ला प्रशासन कार्यालय पुगेका सञ्चारकर्मीहरूले प्रमुख जिल्ला अधिकारी गणेश अर्यालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त ज्ञापन पत्र बुझाएका हुन् ।
महासङ्घका सचिव विजय चौहानले बुझाएको ज्ञापन पत्रमा हिंसात्मक आन्दोलनमा संलग्न हत्यारामाथि छानबिन गरी कारबाही गर्न, घाइते पत्रकारहरूको निःशुल्क उपचारको व्यवस्था मिलाउन, सञ्चार गृहमा भएको क्षतिको उचित क्षतिपूर्ति प्रदान गर्न र दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
साथै, आफ्ना मागहरू पूरा नभएमा पर्साका सम्पूर्ण पत्रकारहरू महासङ्घको अगुवाइमा आन्दोलनमा उत्रिने चेतावनी पनि दिइएको छ ।
ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी अर्यालले काठमाडौँको घटनालाई दुःखद र अस्वीकार्य भन्दै स्थानीय प्रशासन पनि यसबाट स्तब्ध भएको बताए । उनले भने, “तपाईँहरूको माग मैले सम्बन्धित निकायमा पुर्याउनेछु । सरकार र स्थानीय प्रशासन सधैँ पत्रकारहरूको पक्षमा छ ।”
ज्ञापन पत्र बुझाउन गएको टोलीमा प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्र, नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष क्रान्ति शाह, तुलसी भण्डारीलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।




