२साउन,वीरगञ्ज । सरकार नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद आफताब आलमलाई ज्यान मुद्दाबाट सफाइ दिने उच्च अदालतको फैसलाविरुद्ध सर्वोच्च अदालत पुगेको छ ।

महान्यायाधिवक्ता कार्यालयले उच्च Shops वीरगञ्ज इजलासको फैसलाविरुद्ध पुनरावेदन दर्ता गरेको हो ।

कार्यालयले आलमसहितका सबै आरोपितलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै पुनरावेदन गरेको जनाएको छ । साथै, जिल्ला अदालतबाट सफाइ पाएका केही आरोपितलाई समेत दोषी ठहर गरिनु पर्ने माग गरिएको छ ।
२०६४ सालको संविधानसभा निर्वाचनको एक दिन अगाडि रौतहटमा भएको बम विस्फोट घटनामा संलग्न रहेको अभियोगमा आलमसहितका व्यक्तिहरूलाई पक्राउ गरिएको थियो । घटनामा घाइते भएका व्यक्तिहरूलाई इँटा भट्टामा हालेर हत्या गरिएको आरोप उनीहरूमाथि लागेको थियो ।
गत जेठ १४ गते उच्च अदालत वीरगञ्जले आलमसहित सबै आरोपितलाई प्रमाण अभावमा सफाइ दिएको थियो। त्यस फैसलापछि आलोचना चुलिएको थियो ।
सरकार निर्णयसँग असहमत रहेकाले न्यायिक पुनरावलोकनका लागि सर्वोच्चमा पुनरावेदन दर्ता गरिएको हो । अब सर्वोच्च अदालतले पुनरावेदनमाथि प्रारम्भिक सुनुवाइपछि फैसलाको पुनरावलोकन गर्नेछ ।



