राम आर्य
वीरगञ्ज ।संसदमा सरकारले पारित गरेको भूमि विधेयकविरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन गरिएको छ। विरोध कार्यक्रममा जसपा नेपालका नेतृवर्ग तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूको सक्रिय सहभागिता रहेको थियो।

विरोध सभामा जसपा नेपालका पर्सा जिल्ला अध्यक्ष रामसहाय यादव, जसपा नेपालका केन्द्रीय सदस्य शशीकपूर मियाँ, करिना बेगम वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष परसुराम चौरसिया,अजय चौरसिया र नेत्री रेखा साह लगायतले सम्बोधन गरेका थिए |वक्ताहरूले भूमि विधेयक किसान, भूमिहीन र श्रमिकहरूको पक्षमा नभई ठूला व्यक्तिहरूलाई फाइदा हुने गरी ल्याइएको भन्दै आपत्ति जनाए। उनीहरूले विधेयक खारेज गर्न माग गर्दै सरकारको नीति भूमिहीन जनताप्रति अन्यायपूर्ण रहेको आरोप लगाए।

भूमि विधेयक पास हुनु मदेशका र देशका गरिब कम्जोर वर्गलाई अझ कमजोर गर्ने नीति हो भनि वीरगञ्ज महानगरपालिका–१६ का वडा अध्यक्ष परसुराम चौरसियाले बताए | पार्टीका कार्यकर्ताहरूले प्रदर्शनमा सहभागी भई नाराबाजी गरेका थिए। उनीहरूले भूमिहीनलाई न्याय दिने कानून बनाउनुपर्ने र संसदबाट पारित विधेयक तत्काल सच्याउनुपर्ने माग गरे।

विरोध कार्यक्रमका वक्ताहरूले चेतावनी दिँदै भने, “यदि सरकारले विधेयक फिर्ता लिएन भने निरन्तर आन्दोलन गरिनेछ।”


