Lucky-Khabar_

नयाँदिल्ली दीपावलीको आतसबाजीपछि धुवाँले ढाकिएकोछ

काठमाडौं ।नयाँदिल्ली दीपावलीको आतसबाजीपछि घना र विषालु धुवाँले ढाकिएकोछ | यो उत्सवले राजधानीको वायु प्रदूषणलाई खतरनाक स्तरसम्म पुर्‍याएको अधिकारीहरूले बताएका छन् ।

content ad p2

दीपावलीको दिन सोमबार राति ढिलोसम्म फोडिएका पटाकाहरूले हावामा धुवाँ र सूक्ष्म कणहरूको मात्रा तीव्र रूपमा बढायो, जसले पहिल्यै मौसमी प्रदूषण र स्थिर मौसमको अवस्थासँग मिसिएर वातावरणलाई झन् विषाक्त बनायो ।

नयाँदिल्लीमा मंगलबार बिहानसम्म वायु गुणस्तर सूचकांक (एक्यूआई) ३५० नाघेको थियो । जुन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार ‘गम्भीर’ स्तर हो र सास फेर्न नै खतरनाक मानिन्छ ।


भारतको सर्वोच्च अदालतले गत हप्ता कम प्रदूषण उत्सर्जन गर्ने ‘हरित पटाका’ को सीमित प्रयोगलाई अनुमति दिँदै दीपावलीका बेला पटाकामाथिको पूर्ण प्रतिबन्ध केही हदसम्म फुकुवा गरेको थियो ।

संघीय अनुसन्धान संस्थानहरूले विकास गरेका ती हरित पटाकाहरूले साधारण पटाकाको तुलनामा करिब ३० प्रतिशत कम कण र ग्यास उत्सर्जन गर्ने बताइएको छ ।

अदालतले शनिबारदेखि मंगलबारसम्म निश्चित समयमा मात्र ती पटाका प्रयोग गर्न सकिने व्यवस्था गरेको थियो, तर विगतका वर्षहरूजस्तै यस वर्ष पनि नियम व्यापक रूपमा उल्लंघन भएको देखियो ।

नयाँदिल्ली र यसको वरिपरिका क्षेत्रमा तीन करोडभन्दा बढी जनसङ्ख्या बसोबास गर्छ । दीपावलीको आतसबाजी, चिसो मौसम र नजिकैका राज्यहरूमा किसानहरूले खेतमा लगाएको बालीको अवशेष जलाउँदा निस्कने धुवाँ एकैसाथ मिसिँदा यी क्षेत्रहरू जाडो मौसममा विश्वकै सबैभन्दा प्रदूषित सहरहरूमा पर्ने गरेका छन् ।

भारतमा हालैको एक वैज्ञानिक अध्ययनले वायु प्रदूषणको वृद्धिले सूर्यको प्रकाशको मात्रा घटाएको चेतावनी दिएको छ । नेचर पोर्टफोलियोको जर्नल साइन्टिफिक रिपोर्ट्समा प्रकाशित अध्ययन अनुसार बढ्दो औद्योगिक उत्सर्जन, बायोमास जलाउने र सवारी साधनबाट निस्कने एरोसोल कणहरूले सूर्यको किरण पृथ्वीमा पुग्ने समय घटाइरहेका छन् ।

सूर्यको प्रकाशमा आएको यो कमीले भारतको सौर्य ऊर्जाको उत्पादन मात्र घटाउने नभई स्थानीय वातावरण, जनस्वास्थ्य र कृषि उत्पादकत्वमा समेत दीर्घकालीन नकारात्मक प्रभाव पार्नेछ ।

सम्बन्धित खबर

रास्वपा जगरनाथपुर–६ द्वारा शुभकामना आदानप्रदान तथा  जनगुनासो सुनुवाइ कार्यक्रम सम्पन्

लक्की खबर

जनताको समस्या सुन्न बहुबरी पुगे रास्वपाका सांसदहरू, कृषि, सिँचाइ, शिक्षा र स्वास्थ्यका विषयमा खुला छलफल

लक्की खबर

परोहा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण तालिका सार्वजनिक

लक्की खबर