काठमाडौं| शोभित बस्नेत निर्देशित फिल्म ‘पीआर’ नेपालमा मंसिर २६ गतेबाट प्रदर्शनमा आउने भएको छ। नेपाली विद्यार्थीले अष्ट्रेलियामा स्थायी आवासीय पत्र (पीआर) पाउन भोग्नुपर्ने चुनौती र संघर्षलाई केन्द्रबिन्दु बनाई निर्माण गरिएको यो फिल्म पूर्वी एसियाली मुलुकहरूमा पनि प्रदर्शन हुने निश्चित भएको हो।

नेपालसँगै फिल्म जापानमा पनि प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ। स्वदेशमा रिलिज भएको एक सातापछि भने फिल्म अष्ट्रेलिया र न्यूजिल्याण्डमा प्रदर्शन हुनेछ। ती दुई मुलुकमा प्रदर्शन अधिकार श्रेष्ठ फ्यास्लिटी म्यानेज्मेन्ट कम्पनीले खरिद गरेको जनाइएको छ।

कम्पनीका प्रमुख विजेन्द्र श्रेष्ठका अनुसार फिल्मले उठाएको सामाजिक सन्देश र दर्शकको मागलाई ध्यानमा राखेर अष्ट्रेलिया–न्यूजिल्याण्ड प्रदर्शन अधिकार किनेको बताए।
यसअघि अष्ट्रेलियाका विभिन्न स्थानमा फिल्मका विशेष शो सम्पन्न भइसकेका छन्। नेपालबाट पैसा कमाएर सुखी जीवनको खोजीमा अष्ट्रेलिया पुगेका र पीआर पाउन संघर्षरत नेपाली विद्यार्थीलाई केन्द्रमा राखिएको कथावस्तुले दर्शकमा राम्रो अपेक्षा जगाएको निर्देशक बस्नेतले बताए। उनी अहिले फिल्म प्रवर्धनका लागि अष्ट्रेलियामै रहेका छन्।
परराष्ट्र मन्त्रालयले २०२२ जुनमा सार्वजनिक गरेको तथ्यांकअनुसार अष्ट्रेलियामा पीआर लिने नेपालीको संख्या १ लाख ५१ हजार १४० पुगेको थियो, र पछिल्ला वर्षहरूमा यसमा थप वृद्धि भइरहेको अनुमान छ।
फिल्ममा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल मुख्य भूमिकामा देखिनेछन्।


