वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवद्वारा मदरसा शिक्षा बोर्डलाई स्वीकृति दिएर शिक्षा मन्त्रालयमा पठाइएको निर्णयको विरोधमा विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्जले आज बृहत् विरोध प्रदर्शन गरेको छ।

घन्टाघर क्षेत्रमा आयोजित विरोधसभापछि परिषद्ले मशाल जुलुस निकाल्दै मुख्यमन्त्री यादवको पुत्ला दहन गरेको थियो। प्रदर्शनमा सहभागीहरूले उक्त निर्णयले धार्मिक विभाजन बढाउने आरोप लगाउँदै तत्काल खारेज गर्न सरकारलाई माग गरे।

वक्ताहरूले मदरसा शिक्षा बोर्डको प्रस्ताव प्रदेश सरकारको हतारो र नियतमाथि प्रश्न उठाउने खालको रहेको टिप्पणी गरे। धर्मका आधारमा शिक्षालाई विभाजित गर्ने प्रयास स्वीकार्य नहुने चेतावनी दिंदै उनीहरूले निर्णय फिर्ता लिन प्रदेश सरकारलाई आग्रह गरे।

मशाल जुलुसमा परिषद्का पदाधिकारी, स्थानीयवासी तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ।




