काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ।

अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ५ दशमलव ७० अंकले बढ्दै २६२५ विन्दुमा पुगेको छ। परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ। मंगलबार ३ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको बजारमा बुधबार ४ अर्ब ५ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएका छन्।
बजारमा सूचीकृत कुल कम्पनीहरूमध्ये १४३ कम्पनीको सेयर मूल्य बढेको छ भने १०४ कम्पनीको मूल्य घटेको छ। बाँकी ११ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
उपसमूहगत रूपमा बुधबार फाइनान्स समूह सबैभन्दा बलियो देखिएको छ। फाइनान्स समूहको परिसूचक १.७५ प्रतिशतले बढेको छ। यससँगै विकास बैंक, बैंकिङ, जलविद्युत् र लघुवित्त समूहमा समेत हरियाली छाएको छ। यद्यपि व्यापार, निर्जीवन बीमा तथा होटल तथा पर्यटन समूहका लगानीकर्ताले भने सामान्य घाटा व्यहोर्नु परेको छ।

कम्पनीगत रूपमा स्वस्तिक लघुवित्त र एसवाई प्यानलको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि उल्लेख्य नाफा कमाएका छन्।
यसैबीच, बाराही हाइड्रोपावरको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लाग्दै दिनकै सबैभन्दा धेरै गिरावट आएको छ। कारोबार रकमका आधारमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स र ङादी ग्रुप पावर अग्रस्थानमा रहेका छन्।
समग्रमा कारोबार रकममा देखिएको सुधारले सेयर बजारमा लगानीकर्ताको सक्रियता र मनोबल क्रमशः बढ्दै गएको संकेत गरेको छ।


