काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बन्न ३५३ जनाले आवेदन दिएका छन्। पार्टीले सार्वजनिक गरेको प्रारम्भिक सूची अनुसार सचिवालय तथा केन्द्रीय समितिका १५ जना नेताले समानुपातिक उम्मेदवारका रूपमा आवेदन दिएका हुन्।

केन्द्रीय स्तरबाट आवेदन दिनेमा लिमा अधिकारी, प्रतिभा रावल, रमेश प्रसाईं, अरनिको पाँडे, क्रान्तिशिखा धिताल, मेघ आले, विजय जैरु, टिका संग्रौला, खुश्बु सरकार श्रेष्ठ, नन्दन यादव, इश्रा मुल्ला मिया, कुसुम महर्जन, एलिजा गुरुङ, प्रमिला कुलुजु र निशा मेहता छन्।
प्रतिनिधिसभा निर्वाचन ऐनअनुसार दलहरूले समानुपातिक बन्दसूची समावेशिताका आधारमा पेश गर्नुपर्ने व्यवस्था छ। यही प्रावधानअनुसार रास्वपाले दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारू र मुस्लिम समुदायको प्रतिनिधित्व हुने गरी आवेदन आह्वान गरेको हो।
प्रदेशगत रूपमा सबैभन्दा बढी आवेदन बागमती प्रदेशबाट (९४) परेको छ भने सबैभन्दा कम कर्णालीबाट (२१) परेको छ। कोशीमा ६०, मधेसमा ६१, गण्डकीमा ४३, लुम्बिनीमा ४४ र सुदूरपश्चिममा ३० जनाले आवेदन दिएका छन्।
खस–आर्य क्लस्टरबाट ताप्लेजुङका लिमा अधिकारीले आवेदन दिएका छन्। मधेसी क्लस्टरबाट सुनसरीकी केन्द्रीय सदस्य निशा मेहताको नाम परेको छ। उपनिर्वाचनमा इलामबाट पराजित मिलन लिम्बु आदिवासी जनजाति क्लस्टरबाट आकांक्षी छन्। दलित क्लस्टरमा विवेकशील साझाबाट रास्वपा आएका प्रकाशचन्द्र परियार (सुनसरी) ले आवेदन दिएका छन्।
मोरङकी राज्यलक्ष्मी गोल्छाले मधेसी क्लस्टरबाट आवेदन दिएकी छन् भने गायिका सत्यकला राई आदिवासी जनजाति क्लस्टरमा आकांक्षी बनेकी छन्। मधेस प्रदेशबाट ६१ जनाले आवेदन दिएकोमा केन्द्रीय सदस्य डा. नन्दन यादव र जेनजी अगुवा पुरुषोत्तम सुप्रभात यादव पनि समावेश छन्।
बागमती प्रदेशबाट सबैभन्दा बढी आकांक्षी देखिएका छन्। कोषाध्यक्ष लिमा अधिकारी खस–आर्य क्लस्टरबाट र सह–कोषाध्यक्ष बसुमाया तामाङ समानुपातिकतर्फ इच्छुक छन्। केन्द्रीय सदस्य अरनिको पाँडे, खुश्बु सरकार श्रेष्ठ, विवेकशील साझाका पूर्व अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना, पूर्व सञ्चारकर्मी प्रमोद न्यौपाने र कांग्रेस चितवनका पूर्व नेता जगन्नाथ पौडेल पनि आकांक्षी सूचीमा छन्।
गण्डकीबाट ४३ जनाको आवेदन परेको छ। केन्द्रीय सदस्य मेघ आले, इश्रा मुल्ला मिया र एलिजा गुरुङ क्रमशः जनजाति र मुस्लिम क्लस्टरबाट आकांक्षी छन्। लुम्बिनीबाट ४४ जनाले आवेदन दिएका छन् भने केन्द्रीय सदस्य क्रान्तिशिखा धिताल खस–आर्य क्लस्टरबाट उम्मेदवार बन्न इच्छुक छन्।
सुदूरपश्चिमबाट ३० जनाले आवेदन दिएकोमा सहप्रवक्ता प्रतिभा रावल, विजय जैरु र टिका संग्रौला (ज्वाला) प्रमुख आकांक्षी छन्।
रास्वपाले यसपटक अघिल्लो निर्वाचनमा समानुपातिक सांसद भइसकेकालाई नदोहोर्याउने नीति बनाएको छ। कार्यतालिका अनुसार पुस ३ गते प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ। पुस ४ गते दाबी–विरोध, पुस ६ देखि ‘लिडरशिप एकेडेमी र पोलिटिकल प्राक्सिस मेट्रिक्स’ मार्फत मूल्यांकन, पुस १२–१३ मा प्रारम्भिक निर्वाचन र पुस १४ गते अन्तिम नामावली प्रकाशन गरिने छ।
समानुपातिकबाट प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहनेका लागि पुस ५ गते साँझ ५ बजेसम्म समय दिइएको छ। समानुपातिक उम्मेदवारका लागि आवेदन शुल्क ५० हजार रुपैयाँ तोकिएको छ।


