बिरगंज | पर्सा जिल्लाका चार सयभन्दा बढी जेन्जी युवाहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आइतबार वीरगञ्जस्थित रोयल पार्टी प्यालेसमा आयोजित कार्यक्रममा जेन्जी युवा नेता परबेज सेखको नेतृत्वमा उनीहरू रास्वपामा आवद्ध भएका हुन्।

पार्टी प्रवेश गर्ने युवाहरूमा कमलेश पटेल, रन्जित साह कल्वार, साहिल सेख, सन्नी अली, आनन्द चौहान, अजय पण्डित, सेख अल्ताफ, प्रियञ्जन यादव, सञ्जीत साह, दानिश सेख लगायतका चार सयभन्दा बढी युवाहरू रहेका छन्।

रास्वपामा प्रवेश गर्दै जेन्जी नेता परबेज सेखले राष्ट्रिय स्वतन्त्र पार्टीले मात्र देशमा वास्तविक परिवर्तन ल्याउन सक्ने दाबी गरे। उनले पर्साका जेन्जी युवाहरू अब रास्वपालाई जिताउन एकजुट भएर लाग्ने बताए। साथै, जेन्जी युवा नेताहरू सुदन गुरुङ र पुरुषोत्तम यादवलगायत प्रभावशाली नेताहरू यसअघि नै रास्वपामा प्रवेश गरिसकेको उल्लेख गर्दै रास्वपाले जेन्जी आन्दोलनलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै रास्वपा पर्सा सभापति तथा पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले जेन्जी युवाहरूलाई पार्टीको सबैभन्दा ठूलो शक्ति भएको बताए। युवाहरूको साथ प्राप्त भएकाले आफू ढुक्कसँग निर्वाचन जित्ने दाबी गर्दै उनले चुनावमा हुने पैसाको अवैध चलखेललाई कानुनसम्मत रूपमा रोक्न युवाहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।


