काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले छोटो समयमै संसदीय राजनीतिमा प्रभावकारी उपस्थिति जनाउँदै जनतामा नयाँ राजनीतिक चेतना जगाउन सफल भएको दाबी गरेको छ।

पार्टी नेतृत्वले २० सिट जितेर संसद् प्रवेश गरेको र उपनिर्वाचनमार्फत थप एक सिट हासिल गर्दै प्रतिनिधिसभामा २१ सिट पुर्याएको स्मरण गर्दै सदनमा जनताका मुद्दा उठाउने कामलाई प्राथमिकतामा राखेको जनाएको छ।
रास्वपाका नेताहरूका अनुसार विगतमा संसद् केवल शीर्ष नेताहरूको बहस, आरोप–प्रत्यारोप र राजनीतिक खिचातानीको थलोका रूपमा बुझिने गरिन्थ्यो। तर रास्वपाले जनसरोकारका विषय, सुशासन, पारदर्शिता तथा भ्रष्टाचारविरुद्धका मुद्दालाई प्रमुखताका साथ उठाएर संसद्को भूमिकाबारे नयाँ सन्देश दिएको दाबी गरेको छ।

“रास्वपा आएपछि भ्रष्टाचारका विभिन्न काण्ड सार्वजनिक भए, संसद्ले जनताका समस्यामाथि पनि गम्भीर छलफल गर्न सक्छ भन्ने सन्देश गएको छ,” पार्टीको भनाइ छ।
पार्टीले यही कार्यशैली र जनविश्वासका कारण पछिल्लो निर्वाचनमा व्यापक समर्थन प्राप्त गर्दै सरकारको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गरेको छ। नेतृत्वले अब जनताको भावना, आशा र अपेक्षाअनुसार परिणाममुखी काम गर्ने तथा प्राप्त अवसरको पूर्ण सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

रास्वपाले सुशासन, जवाफदेहिता, पारदर्शिता र नागरिक केन्द्रित शासनलाई आफ्नो प्राथमिकतामा राख्दै जनताले देखाएको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने लक्ष्यसहित अघि बढ्ने जनाएको छ।


