वीरगञ्ज| राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले भेटवार्ता गर्दै वीरगञ्ज क्षेत्रका उद्योगी–व्यवसायीहरूले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का सांसद हरि पन्तको समन्वयमा संघका अध्यक्ष हरि गौतमको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले लामिछानेको निवासमै पुगेर भेट गरेको हो।
भेटका क्रममा उद्योगी–व्यवसायीहरूले नेपालको प्रमुख व्यापारिक नाका तथा औद्योगिक केन्द्रका रूपमा रहेको वीरगञ्जमा नीतिगत अस्थिरता, आर्थिक चुनौती तथा व्यवसाय सञ्चालनमा देखिएका व्यावहारिक कठिनाइबारे ध्यानाकर्षण गराएका थिए। उनीहरूले निजी क्षेत्रको मनोबल बढाउने, लगानीमैत्री वातावरण सिर्जना गर्ने तथा औद्योगिक गतिविधिलाई सहज बनाउने गरी राजनीतिक नेतृत्वबाट प्रभावकारी पहल आवश्यक रहेको धारणा राखेका थिए।

व्यवसायीहरूको भनाइ सुनेपछि सभापति लामिछानेले मुलुकको आर्थिक समृद्धि र रोजगारी सिर्जनामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै उद्योगी–व्यवसायीका जायज माग र समस्यालाई सम्बन्धित निकायसम्म पुर्याई समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेटवार्तामा वीरगञ्ज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगी, वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल, सचिव प्रेमचन्द गोयल, सहसचिव सुशान्त चाचान तथा अन्य पदाधिकारी एवं उद्योगी–व्यवसायीहरूको पनि सहभागिता रहेको थियो।


