वीरगञ्ज। वीरगञ्ज महानगरपालिकाले लोककल्याणकारी सूचना वितरणसम्बन्धी आफ्नो अघिल्लो निर्णय सच्याउँदै अब स्थानीय साप्ताहिक पत्रपत्रिकालाई पनि सूचीकरणमार्फत सूचना उपलब्ध गराउने निर्णय गरेको छ। यससँगै लामो समयदेखि लोककल्याणकारी सूचनाबाट वञ्चित हुँदै आएका साप्ताहिक प्रकाशनहरू पनि अब समान रूपमा लाभान्वित हुने भएका छन्।

महानगरपालिकाको आमसञ्चार माध्यम प्रवर्द्धन तथा नियमन समितिको बैठकले साप्ताहिक पत्रपत्रिकालाई समेत सूचीकरणका लागि आह्वान गर्ने निर्णय गरेको हो। समितिका संयोजक शत्रुधन नेपालको अध्यक्षतामा बसेको बैठकले यसअघिको व्यवस्था परिमार्जन गर्दै साप्ताहिक सञ्चारमाध्यमलाई पनि समेट्ने निर्णय गरेको जनाएको छ।

यसअघि महानगरले साप्ताहिक पत्रिकालाई सूचीकरण नगर्ने निर्णय गरेपछि स्थानीय सञ्चारमाध्यमहरू लोककल्याणकारी सूचनाबाट वञ्चित भएका थिए। उक्त निर्णय महानगरकै आमसञ्चारसम्बन्धी ऐन–कानुनको मर्मविपरीत भएको भन्दै नेपाल पत्रकार महासंघसहित विभिन्न सञ्चारकर्मी तथा सरोकारवालाले निरन्तर विरोध र निर्णय सच्याउन दबाब दिँदै आएका थिए।
वीरगञ्ज महानगरपालिकाका कार्यवाहक प्रमुख इम्तियाज आलमले स्थानीय सञ्चारमाध्यमको सुदृढीकरण महानगरको प्राथमिकतामा रहेको बताउनुभयो। उहाँले सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन पनि बलियो हुने उल्लेख गर्दै कानुनले व्यवस्था गरेअनुसार महानगर सधैँ सकारात्मक र रचनात्मक ढंगले अघि बढ्ने बताउनुभयो।
“सञ्चारमाध्यम बलियो भए लोकतन्त्र र सुशासन बलियो हुन्छ। त्यसैले महानगर स्थानीय सञ्चारमाध्यमको प्रवर्द्धनमा प्रतिबद्ध छ,” कार्यवाहक प्रमुख आलमले भन्नुभयो।
उहाँका अनुसार सञ्चारमाध्यम प्रवर्द्धनसम्बन्धी कानुन निर्माण गर्ने देशकै पहिलो स्थानीय तहका रूपमा वीरगञ्ज महानगरपालिकाले कानुनी व्यवस्था कार्यान्वयनमा विशेष जोड दिँदै आएको छ।
महानगरको पछिल्लो निर्णयसँगै वीरगञ्जबाट नियमित रूपमा प्रकाशित हुँदै आएका दर्जनौँ साप्ताहिक पत्रपत्रिका तथा तिनमा आबद्ध श्रमजीवी पत्रकारहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ। सञ्चार क्षेत्रका सरोकारवालाले यस निर्णयलाई स्थानीय सञ्चारमाध्यमप्रति समान व्यवहार र प्रेस स्वतन्त्रताको सम्मानका रूपमा स्वागत गरेका छन्।


