काठमाडौं| सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको झडपका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका अर्का एक युवकको पनि उपचारका क्रममा मृत्यु भएको छ।

विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत स्थानीय २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार दिउँसो मृत्यु भएसँगै उक्त घटनामा ज्यान गुमाउनेको संख्या दुई पुगेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार पेट र कम्मरमा गोली लागेका मेहतालाई अपराह्न १:२४ बजे चिकित्सकहरूले मृत घोषणा गरेका हुन्। यसअघि सोही घटनामा **ओमप्रकाश मेहता**को घटनाकै दिन मृत्यु भएको थियो।

घटनामा घाइते भएका अन्य ८ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। झडपमा सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी व्यक्ति घाइते भएका थिए। अस्पताल स्रोतका अनुसार उपचाररत केही घाइतेको अवस्था अझै गम्भीर रहेको छ।
घटनापछि क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ भने प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।


