वीरगञ्ज, भदौ २९। विश्व तेली दिवसको अवसरमा तेली कल्याण समाज पर्साले रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

समाजले संकलन गरेको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने उद्देश्यले पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य सुशील कुमार कानुलाई चेकमार्फत हस्तान्तरण गरिएको हो।

सोमबार आयोजित कार्यक्रममा तेली कल्याण समाज पर्साका अध्यक्ष ध्रुव साहले १ लाख ५१ हजार रुपैयाँको चेक सांसद कानुलाई हस्तान्तरण गर्नुभएको थियो।
चेक हस्तान्तरण कार्यक्रममा समाजका सचिव वीरेन्द्र साह, उपाध्यक्ष पारस साह, कोषाध्यक्ष नितेश गुप्ता, पर्सागढी नगरपालिकाका अध्यक्ष नन्दु प्रसाद साह, लालबाबु साह, पवन साह, मधुसूदन साह, बाराका कपिलदेव साह तेलीलगायतको सहभागिता थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका युवा नेता शिव कुमार साह, सुधीर पटेल, राज कुमार साह, राम आर्या र फैयाज अन्सारीको समेत उपस्थिति रहेको थियो।
रसुवा बाढीपीडितका लागि सहयोग रकम संकलन गर्दै आउनुभएका सांसद कानुले विश्व तेली दिवसको अवसरमा विपद्पीडित परिवारका लागि सहयोग गरेकोमा तेली कल्याण समाज पर्सा तथा सहयोगमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्नुभयो।
उहाँले विपद्को समयमा पीडित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताउँदै प्राप्त सहयोगले रसुवाका बाढीपीडित परिवारको राहत तथा पुनःस्थापनामा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
तेली कल्याण समाज पर्साका प्रवक्ता शिव कुमार साहले विश्व तेली दिवसलाई सामाजिक सेवा र मानवीय सहयोगसँग जोड्दै विपद्का कारण प्रभावित परिवारका लागि सहयोग रकम उपलब्ध गराइएको बताउनुभयो।


