रौतहट, ७ असोज । रौतहटको परोहा नगरपालिका–८ मोतिपुरस्थित पटेल चौकबाट प्रहरीले एक जना भारतीय नागरिकलाई अवैध हतियारसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत मोतिहारी जिल्लाको सन्तपुर निवासी गम्भीरा दासका ३५ वर्षीय छोरा गोविन्दा दास रहेका छन्।
प्रहरी चौकी मोतिपुर र सशस्त्र प्रहरी बल नेपाल, बोर्डर आउट पोस्ट (बीओपी) सरमुजवाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा निगरानी तथा चेकजाँच गर्ने क्रममा दासलाई एक थान कटुवा पेस्तोलसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी तथा चेकजाँचलाई कडाइ गरिरहेका बेला हतियारसहित भारतीय नागरिक पक्राउ परेपछि सुरक्षा निकायले घटनालाई गम्भीर रूपमा लिएको जनाएको छ।
पक्राउ परेका दासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको छ।


