वीरगञ्ज । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरबाट सशस्त्र प्रहरीले ५० लाख रुपैयाँभन्दा बढी मूल्यका मोबाइल पार्ट्स बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको नेतृत्वमा गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले स्थानीय भोला साहको घरमा खानतलासी गरेको थियो।खानतलासीका क्रममा घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा ५० लाख १४ हजार ५०१ रुपैयाँ बराबरका मोबाइल पार्ट्स बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
टोलीले उक्त घरबाट दुई वटा मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ। बरामद मोबाइल पार्ट्स तथा मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।बरामद सामग्रीको स्रोत तथा त्यसमा संलग्न व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।


