हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपालकी अध्यक्ष पाण्डेलाई चीनको हाइनान प्रान्तस्थित हाइकोउमा अक्टोबर ३० मा सम्पन्न संस्थाको क्षेत्रीय परिषद् तथा विस्तारित बैठकले सन् २०२७ मा हुने ११औँ महाधिवेशनसम्मका लागि कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको हो।
संस्थाका अध्यक्ष तथा फिलिपिन्सको क्विरिनो प्रान्तका गभर्नर डाकिला कार्लो कुआको गत सेप्टेम्बर १५ मा निधन भएपछि उक्त पद रिक्त थियो। एसियाका ५१ देशका स्थानीय सरकार तथा विभिन्न संस्थाहरू आबद्ध रहेको यस संस्थाको केन्द्रीय कार्यालय इन्डोनेसियाको जाकार्तामा छ।
नेपाली कांग्रेसबाट हुप्सेकोट गाउँपालिकाको नेतृत्व गर्दै आउनुभएकी पाण्डे सन् २०२३ देखि संस्थाको कार्यसमिति सदस्यका रूपमा कार्यरत हुनुहुन्थ्यो।
अक्टोबर २८ देखि ३० सम्म चलेको बैठकमा स्थानीय सरकारबीचको सहकार्य, दिगो सहरी विकास, जलवायु परिवर्तन न्यूनीकरण, समावेशी शासन, क्षमता अभिवृद्धि तथा अनुभव आदानप्रदानका विषयमा छलफल भएको थियो।
कार्यवाहक अध्यक्षको जिम्मेवारी पाउनु नेपालका लागि गौरवको विषय भएको बताउँदै पाण्डेले यसबाट अन्तर्राष्ट्रियस्तरमा नेपालको सम्बन्ध विस्तार हुनुका साथै स्थानीय सरकारका लागि नयाँ ज्ञान, सीप र अवसर भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले संस्थामार्फत नेपालमा विभिन्न परियोजना विकास तथा विस्तार गर्ने तयारीसमेत भइरहेको जानकारी दिनुभएको छ।



