काठमाडौं । सीमा क्षेत्रमा सुरक्षा निगरानी कडा बनाइएपछि पछिल्लो सात महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरिएको छ। सशस्त्र प्रहरी बल, नेपालले सञ्चालन गरेको विशेष सुरक्षा अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न ४२१ जनालाई पक्राउ गरिएको छ भने मानव बेचबिखनको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सीमा क्षेत्रमा तस्करी, राजस्व छली, लागूऔषध ओसारपसार तथा अन्य सीमापार अपराध नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका अनुसार सात महिनाको अवधिमा १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरिएको छ। यस अवधिमा १७ नाल अवैध हतियार बरामद गर्नुका साथै हतियार कारोबारमा संलग्न आठ जनालाई पक्राउ गरिएको छ।
त्यसैगरी, लागूऔषध ओसारपसारमा संलग्न ४२१ जनालाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट गाँजा, चरेस, खैरो हेरोइन तथा प्रतिबन्धित ट्याब्लेट र इन्जेक्सन बरामद गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण अभियानअन्तर्गत ११८ बालबालिकासहित १६७ जनाको उद्धार गरिएको छ। यसमा संलग्न ९१ जनालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ।सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजा क्षेत्रका ३५ स्थानमा रहेका २३७ वटा गैरकानुनी संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानमा अतिक्रमण गरी लगाइएको ७.४४८ बिघा क्षेत्रफलको खेतीपाती हटाइएको छ भने २०४ स्थानमा गरी ९४ किलोमिटरभन्दा बढी सीमा क्षेत्र सरसफाइ गरिएको छ।

सीमा सुरक्षालाई प्रभावकारी बनाउनुका साथै सीमावर्ती नागरिकसँग सम्बन्ध विस्तार गर्ने उद्देश्यले सशस्त्र प्रहरीले सात महिनामा २ हजार ८०६ वटा अन्तरक्रियात्मक कार्यक्रमसमेत सञ्चालन गरेको जनाएको छ।सशस्त्र प्रहरीले सीमा क्षेत्रमा सुरक्षा उपस्थिति र निगरानी बढाउँदै तस्करी, लागूऔषध कारोबार, मानव बेचबिखन तथा अन्य अवैध गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ।


