वीरगञ्ज । वीरगञ्जको प्रमुख व्यावसायिक केन्द्र आदर्शनगरस्थित स्काइलाइन मलको भुईँ तल्लामा सञ्चालित तिन वटै फुड चेन ब्रान्डहरूको शुक्रवार पूर्व मन्त्री एवम् सङ्घीय सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा सांसद यादव र मेयर सिंहसँगै रहेका अतिथिहरू वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत शैलेन्द्र कुमार, पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल, वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवाल, वरिष्ठ उद्योगपति राजेश अग्रवाल, रमेश अग्रवाल, युवा उद्यमी आकृति अग्रवाल, प्रतीक अग्रवाल, वीरगञ्ज – १० का वडाध्यक्ष सुशील कुमार कानु, हास्य हास्य कलाकार सन्दीप क्षेत्री, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुष्कर बोगटीलगायतले रिबन काटेरउद्घाटन गरेका हुन्
उदघाटन कार्यक्रममा बोल्दै विशिष्ट अतिथिसमेत रहेका वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले वैभव वीरगञ्जको आफ्नो अभियानलाई सफल पार्न स्काइलाइन मलले ठूलो भूमिका खेलेको बताए । वीरगञ्ज नगरवासीलाई पनि अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय र विश्वसनीय सेवाहरू उपलब्ध गराएर मलका सञ्चालकहरूले नगरको विकासमा पनि सहयोग गरिरहेको उनले बताए ।
आजदेखि झन्डै ६ महिना अगाडि सञ्चालनमा आएको स्काइलाइन मलले यसअघि नै नेपाल कै सबैभन्दा ठूलो सिनेमा हल ब्रान्ड क्यूएफएक्सको सुरुवात गरिसकेको छ । आगामी दिनहरूमा मलले थप स्टोरहरू सञ्चालन गर्ने तयारी समेत गरेको मलकी सञ्चालक आशिमा अग्रवालले बताइन । उद्घाटनको अवसरमा केएफसी, पिज्जा हट र क्रिम बेलले विशेष छुटको समेत व्यवस्था गरेको पनि अग्रवालले जानकारी गराइन ।


