वीरगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव र पूर्व स्वास्थ्य मन्त्री गगन थापाबीच भेटघाट भएको छ। स्वास्थ्य मन्त्रालयमा भएको भेटका क्रममा स्वास्थ्यमन्त्री यादव र पूर्व स्वास्थ्यमन्त्री थापाबीच स्वास्थ्य क्षेत्रको सुधारका विषयमा छलफल भएको छ।

स्वास्थ्य मन्त्री यादवको सचिवालयले दिएको जानकारी अनुसार छलफलमा पूर्व स्वास्थ्यमन्त्री थापाले यसअघि आँफुले स्वास्थ्य मन्त्रालय चलाउँदाको अनुभव सुनाउँदै सुधार तथा प्राथमिकता दिनुपर्ने विषयका बारेमा जानकारी दिए।
‘समग्र स्वास्थ्य क्षेत्रको सुधारसहित समसामयीक विषयमा छलफल भएको छ, धेरैजसो स्वास्थ्य बीमा, जनशक्ति र गुणस्तरका वियषमा छलफल केन्द्रित भयो,’ मन्त्री यादवको सचिवालयले भन्यो।
छलफलमा पूर्व स्वास्थ्य मन्त्री गगन थापाका पालामा भएका राम्रा र सुधारका कामलाई आफूले निरन्तरता दिँदै जाने प्रतिवद्धता मन्त्री यादवले गरेको छ भनि सचिवालयले जनाएको छ।
थापाले स्वास्थ्य सेवाको सुधार र विकासका लागि मन्त्रालयमा यसअघि भएका अध्ययन र प्रतिवेदनहरु त्यसै बसिरहेकाले ती प्रतिवेदनले दिएका सुझाव कार्यान्वय गर्दै जाँदा पनि थुप्रै सुधार ल्याउन सकिने जानकारी पनि दिएका थिए।
मन्त्री यादवले स्वास्थ्य बीमा, जनशक्ति, औषधि, अस्पतालहरुको सेवा प्रवाहको सुधार सहित गुणस्तरीय स्वास्थ्य सेवाका क्षेत्रमा आफूले प्राथमिकता दिँदै काम अगाडि बढाएकाले यी विषयमा पूर्व मन्त्री थापासँग थप सुझाव समेत माग गरेका छन्।
सचिवालयका अनुसार सोमबार भएको छलफलमा मन्त्री यादव र पूर्व मन्त्री थापा दुबैले प्राथमिकता दिएका विषय र अनुभाव बाँड्ने काम गरेपछि समग्र स्वास्थ्य क्षेत्रको विकास र विस्तारका विषय लिएर सुझाबसहित अर्को दिन थप छलफल गर्ने विषयमा मौखिक सहमति पनि भएको छ भनि जानकारी प्राप्त भएको छ।


