२ असार, काठमाडौं । लागु औषध बिक्री गरेको आरोपमा प्रहरीले चार जनालाई औषधि पसलबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोरखाको पालुङटार नगरपालिका–४ घर भएका २५ वर्षीया बिनिता कुमाल, भक्तपुरको भक्तपुर नगरपालिका–४ घर भएका २४ वर्षीय रुकेश श्रेष्ठ, सिन्धुली घर भएका २३ वर्षीय राकेश खड्का र ओखलढुंगाको सुनकोशी गाउँपालिका–७ घर भएका २२ वर्षीय ध्रुव कटवाल रहेका छन् ।
उनीहरुलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये बिनिता फार्मेसी सञ्चालक रहेको प्रहरीले जानकारी भएको छ ।
उनको नाममा दर्ता भई गोंगबुस्थित मित्रनगरमा सञ्चालनमा रहेको कविता फार्मेसीबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
त्यसतै प्रहरी प्रभाग कोटेश्वरले पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका–३ घर भएका २६ वर्षीय दीपेन्द्र ओलीलाई लागु औषधसहित पक्राउ गरेको छ । उनको कोठाबाट लागु औषध बरामद गरिएको प्रहरीले बताएको छ ।
उनीहरुबाट औषधिजन्य लागु औषध बरामद भएको छ । बिना अनुमति बेच्न नमिल्ने औषधिहरु उनीहरुले किनबेच गरेको पाइएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुविरुद्ध लागु औषधको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीद्वारा जानकारी भएको छ ।


