भारतीय उद्योगी मुकेश अम्बानीका कान्छो छोरा अनन्त अम्बानीले आफ्नो विवाहमा २५ जनाको दुलहाको टोलीलाई विवाहको दिन १.६७ करोड भारतीय रुपैयाँको लग्जरी घडी उपहार दिएको खबर सार्वजनिक भएको छ |
दुलहाको टोलीमा शाहरुख खान, सलमान खान, रणवीर सिंह, वीर पहाडिया, सलमान खान, मीजान जाफरी, शिखर पहाडियालगायत थिए । सबैलाई अनन्त अम्बानीले एउटा लग्जरी घडी उपहार दिएका थिए।

अडेमार्स पीगे ब्रान्डको रोयल ओक पर्पेचुअल क्यालेन्डर प्रिमियर वाचको यो सीमित संस्करणको घडी १८ क्यारेट सुनबाट बनेको छ । जसको मूल्य २ लाख डलर अर्थात १.६७ करोड भारतीय रुपैयाँ पर्छ । दुलहाको टोलीले आफ्नो घडी देखाएको भिडियो पनि सार्वजनिक भएको छ ।

अनन्तले लामो समयदेखिकी प्रेमिका राधिका मर्चेन्टसँग शनिबार विवाह गरेका छन्। अन्तर्राष्ट्रिय भीभीआईपी पाहुनासहित करोडौँ रुपैयाँ खर्चिएको यो विवाह अहिले पनि चर्चामा छ ।
विवाहमा राधिका मर्चेन्टले सुनले सजाइएको लेहेँगा लगाएकी थिइन् भने अनन्त अम्बानीको विवाहको पोसाकको मूल्य २१४ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ ।


