१३ साउन, काठमाडौं। गत मंसिरदेखि हालसम्म रास्वपाले जम्मा ३५६ वडामा मात्र अधिवेशन गर्न भ्याएको छ ।

२८ मंसिर २०८० मा कैलालीको टीकापुर नगरपालिका–१, सुर्खेत भेरीगंगा नगरपालिका–६, बुटवल उपमहानगरपालिका–१३, पोखरा महानगरपालिका–१०, भरतपुर महानगरपालिका–११, बारा जीतपुर सिमरा उपमहानगरपालिका–२ र इटहरी उपमहानगरपालिका–२० को अधिवेशन गरेको रास्वपाले आठ महिना अवधिमा जम्मा ३५६ वडामा मात्र अधिवेशन गर्न सकेको हो ।

वडा अधिवेशनको सुस्त गतिका कारण त्यसभन्दा माथिल्लो तह र केन्द्रीय महाधिवेशन पनि अन्योलमा परेको छ । हालसम्म ७५३ पालिकामध्ये रास्वपाको पार्टी संरचना ३९९ पालिकामा मात्र बनेको छ ।
संघीय चुनाव भएको एक वर्षभित्र महाधिवेशन गर्नुपर्ने विधानको व्यवस्था छ । तर, प्रथम महाधिवेशन ‘संक्रमणकालीन व्यवस्था’ अनुसार हुने भएकाले पहिलो महाविधेशन गर्ने समय जुनसुकै बेलापनि गर्न सक्ने सुविधा रास्वपालाई छ ।
विधानको संक्रमणकालीन व्यवस्थामा ‘पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन, प्रदेश अधिवेशन, जिल्ला अधिवेशन, पालिका अधिवेशनबाट नयाँ नेतृत्व चयन नहुञ्जेल संक्रमणकालीन व्यवस्था लागु हुने’ उल्लेख छ ।
गत फागुनको २१ गतेबाट रास्वपा सरकारमा सहभागी भएको थियो । सरकारमा गएपछि इलाम-२ को उपनिर्वाचनमा ध्यान दिनुपरेकाले पार्टीको काममा ध्यान दिन नसकेको कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाए ।
केन्द्रीय महाधिवेशनको मितिका बारेमा रास्वपाभित्र तीन वटा विकल्पमा छलफल भइरहेको छ । २०८२ को वैशाख/जेठ, २०८२ को मंसिर/पुस र २०८३ को बैशाख/जेठतिर महाधिवेशन हुन सक्ने प्रस्ताव आएको बुर्लाकोटीले बताए ।
पार्टी सदस्य बन्नका लागि अनलाइन फर्म भर्दा नागरिकता, मतदाता परिचयपत्र, ओटीपी भेरिफाई, पैसा भुक्तानीलगायतका प्रक्रिया अपनाउनुपर्छ । ‘सदस्यता लिने यी कामले गर्दा अलि जटिलता भएको छ। ओटीपी भेरिफाई सम्बन्धित संरचनाले पुष्टि गरिदिनुपर्छ । यसले गर्दा अधिवेशन प्रक्रिया छिटो छिटो हुन सकेको छैन’, भनि जानकारी दिए ।
२०८२ को वैशाख-जेठमा महाधिवेशन गर्दा फास्ट ट्रयाकबाट गर्नुपर्ने राय पार्टीमा आएको छ । त्यसका लागि विधानमा भएका प्रावधानहरु हटाउनुपर्ने हुन्छ । संगठन निर्माणको प्रक्रियालाई सजिलो बनाएको अवस्थामा अबको आठ महिनापछि महाधिवेशन गर्न सकिने मत पार्टीमा छ ।
२०८२ को मध्यतिर महाधिवेशन गर्नुपर्ने मत रास्वपामा ठूलो छ । संगठन विस्तार तिव्र गतिमा गर्ने र जति स्थानमा कार्यसमिति बनेका छन्, ती ठाउँमा अधिवेशन गरेर केन्द्रीय महाधिवेशन गर्न सकिने रास्वपा नेताहरु बताउँछन् ।
अहिलेकै गतिले संगठन विस्तार र अधिवेशन गर्दा २०८३ को सुरुतिर केन्द्रीय महाधिवेशन हुन सक्ने रास्वपाका नेताहरु बताउँछन् ।
पाँच वर्षमा दुई चरणमा राष्ट्रिय महाधिवेशन गर्ने संशोधित विधानको व्यवस्था छ । एक महाधिवेशनबाट अर्को महाधिवेशनको समयावधि १८ महिनादेखि ३६ महिनाको फरक अवधिमा गर्नुपर्दछ ।
विधान संशोधन भएको पाँच महिना पछि रास्वपाले पुनः विधान संशोधन गर्न लागेको छ । गत वैशाखमा रास्वपाले दोस्रो पटक विधान संशोधन गरेको थियो । १० साउनमा बसेको केन्द्रीय समिति बैठकले विधान संशोधन सुझाव कार्यदल गठन गरेको छ ।
कार्यवाहक महामन्त्री बुर्लाकोटीको संयोजकत्वमा रहेका कार्यदलका सदस्यहरुमा सोविता गौतम, गणेश कार्की, तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, नारायण घिमिरे र शंकर श्रेष्ठ छन् ।


