१५ श्रावण,बिरगंज |नेपाल खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्जको आर्थिक वर्ष २०८०/८१ असार मसान्तसम्मको सरकारी कार्यालय तथा निजी ग्राहकको खानेपानी महसुलको बक्यौता रकम रु १२ करोड ३३ लाख ५७ हजार चार सय १८ छ ।
संस्थानको खानेपानी लाइन जोडे पनि नियमित रूपमा खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बर्सेनि वृद्धि भईरहेको छ ।

सरकारी निकायले तिर्नुपर्ने बक्यौता रकम रु तीन करोड ९८ लाख ९७ हजार सात सय ४८ रहेको छभने निजी घरमा खानेपानी प्रयोग गरेवापतको तिर्नुपर्ने बक्यौता रकम रु आठ करोड ३४ लाख ५९ हजार छ सय ७० रकम बक्यौता छ ।
कार्यालयका प्रमुख मन्दिप श्रेष्ठले वर्षौँदेखि सरकारी तथा निजी घरमा खानेपानीको लाइन जोडेर नियमित खानेपानीको महसुल भुक्तानी नगर्दा बक्यौता रकम बढेको बताए । ‘सरकारी तथा निजी घरले खानेपानी उपयोग गरे पनि बक्यौता रु सवा १२ करोडभन्दा बढी छ’, उनले भने,’निजीमात्र होइन, वीरगञ्जका ४५ भन्दा धेरै सरकारी निकायका खानेपानीको बक्यौता पनि चार करोड हाराहारीमा भएको छ ।’
कार्यालयका अनुसार नारायणी अस्पतालको मात्रै बक्यौता रु एक करोड ८४ लाख ७८ हजार नौ सय ७० छ । वीरगञ्ज महानगरपालिका र सो मातहतका वडा कार्यालयको बक्यौता रु १ करोडभन्दा बढी छ । ठाकुरराम क्याम्पसको रु ४९ लाख ६१ हजार चार सय १७ छ ।
जिल्ला प्रशासन कार्यालय पर्साकोबक्यौता रु ३५ लाख १० हजार चार सय ४७ छ । कार्यालय प्रमुख श्रेष्ठले खानेपानीको बिलअनुसारको महसुल तीन महिनाभित्र भुक्तानी नगरेको खण्डमा ५० प्रतिशत जरिवाना लाग्ने प्रावधान रहेको छ। ‘खानेपानीको महसुल नतिर्ने निजी तथा सरकारी निकायलाई ताकेता गर्दै आइरहेका छौँ । तर अहिलेसम्म अपेक्षाकृत रूपमा बक्यौता रकम असुलउपर गर्न सकिरहेका छैनौँ’ उनले बताए ।
कार्यालयका अनुसार आव २०८०/ ८१ को असार मसान्तसम्मको अवधिमा यो कार्यालय मातहत ११ हजार एक सय ३९ घरपरिवारमा खानेपानीको लाइन जडान भएको छ । कार्यालयले गत आवमा सानाठूला गरेर २१ किलोमिटर लम्बाइको पाइप लाइन विस्तार गरेको जनाएको छ ।


