२५ साउन,नयाँदिल्ली । बंगलादेशमा जारी अशान्ति र तनावपूर्ण अवस्थाको निगरानीका लागि भारतले एक समिति बनाउने निर्णय गरेको छ ।

समितिले बंगलादेशी हिन्दूहरूको सुरक्षा सुनिश्चित गर्ने प्रयासमा जुट्ने छ। भारतीय गृहमन्त्री अमित शाहले शुक्रबार एक ट्वीट गर्दै यसबारेमा जानकारी बताएका हुन् ।
उनले भनेका छन्,‘बंगलादेशमा जारी तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै मोदी सरकारले भारत–बंगलादेश सीमा (आईबीबी) मा जारी अवस्थाको निगरानीका लागि एक समिति गठन गरेको छ|’
उनका अनुसार यो समिति बंगलादेशमा आफ्ना समकक्षी अधिकारीसँग संवादमा रहने छ । यो समितिले बंगलादेशमा नियमित संवादमा रहेर त्यहाँका भारतीय नागरिक, हिन्दु र अन्यअल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्ने छ । यस समितिको अध्यक्षता एडीजी, सीमा सुरक्षा बल र पूर्वी कमानले गर्नेछन् ।
बंगलादेशमा सामाजिक सञ्जालमा हिन्दुहरूको सम्पत्ति र मन्दिरमा हमला गरिएका समाचार आइरहेका छन् ।
त्यस्तै भारतका विदेश मन्त्री एस. जयशंकरले ६ अगस्टमा बंगलादेशको अवस्थाबारे सम्बोधन गरेका थिए ।
बंगलादेशमा रहने अल्पसंख्यकको मुद्दाले हामीलाई सबैभन्दा चिन्तित बनाएको छ। उनीहरूको पसल र कयौँ स्थानका मन्दिरमा आक्रमणको खबर आएको छ।


