७ कात्तिक,वीरगञ्ज। वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ स्थित शिंघहाँ नदी किनारमा जमीन प्लटिङको प्रयास भइरहेको छ, जसले स्थानीय बासिन्दाहरूको कडा विरोध निम्त्याएको छ। भेडियाही मेडिकल पछाडि रहेको सनोटोलादेखि भेडियाही जाने बाटोमा रहेको जग्गामा पलोटरहरूले नदीको बहाव रोक्दै प्लटिङ गरिरहेका छन्।

स्थानीय बासिन्दाहरूका अनुसार जग्गा खरीद गर्दा जग्गाधनीले नदीमा परेको भागको पैसा नलिएको भए पनि, पलोटरहरूले नदीको बहाव रोक्ने गरी जग्गा विस्तार गरेर करोडौँ रुपैयाँ मुनाफा कमाउने योजनामा लागेको आरोप छ।

पलोटरहरूले नदीको ३ वटा खण्डको बहावलाई एक खण्डमा सुकाइ, बाँकी जग्गा प्लटिङ गर्ने काम गरिरहेको स्थानीयले बताएका छन्। यो कार्यले भेडियाही, लछुमनवा, सानोटोलासँगै राजवाटिया र भिस्वा गाउँहरूमा डुबानको खतरा निम्त्याउने चिन्ता स्थानीयले व्यक्त गरेका छन्।

नदी किनारामा भइरहेको यो कार्यको कारणले सम्भावित डुबान र प्राकृतिक प्रकोपको जोखिमलाई मध्यनजर गर्दै स्थानीय समुदायले तुरुन्तै हस्तक्षेप र समाधानको माग गरेका छन्।


