२२ कात्तिक, काठमाडौँ । ।नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्री दर एक सय ३५ रुपैयाँ १६ पैसा तोकेको छ ।

अहिलेसम्मकै यो उच्च हो । हिजो एक अमेरिकी डलरको बिक्री दर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । अस्ति मङ्गलवार १ सय ३४ रुपैयाँ ८९ पैसा पुगेको थियो ।

राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको खरिद मूल्य १ सय ३४ रुपैयाँ ५६ पैसा तोकेको छ । केही हप्तादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ ।

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो । यद्यपि हिजो अमेरिकामा भएको राष्ट्रपतिको चुनावमा रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले जितेपछि लगानीकर्ताको आकर्षण डलरमा बढेको विश्लेषण गरिएको छ ।
ट्रम्पले आफ्नो चुनावी घोषणापत्रमा अमेरिकी डलरलाई पुनः रिजर्भ करेन्सीका रूपमा विकसित गर्ने उल्लेख गरेका छन् ।


