२९मन्सिर्,बिरगंज । हिजो नेपाल पत्रकार महासङ्घ पर्साको निर्वाचनबाट वरिष्ठ आर्थिक पत्रकार ओमप्रकाश खनालको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ ।
उक्त निर्वाचनमा कुल १६१ मत खसेको निर्वाचनमा पदाधिकारीहरूको चयन प्रतिस्पर्धात्मक र रोमाञ्चक रहेको देखिएको थियो ।

अध्यक्ष पदमा ओम प्रकाश खनालले ८४ मत प्राप्त गर्दै निकटतम प्रतिस्पर्धी नेपाल प्रेस युनियन र प्रेस चौतारीका साझा उम्मेदवार अनुप तिवारीले ७५ मत ल्याएका छन् । ९ मतको मतान्तरले खनालको जित भएको हो ।

त्यस्तै उपाध्यक्ष पदमा भने चौतारी र युनियनका साझा उम्मेदवार भूषण यादव ९० मत प्राप्त गरी आफ्ना निकटतम प्रतिद्वन्द्वी अली असगर देवानलाई ३० मतको फराकिलो अन्तरले पराजित गरेका छन् । महिला उपाध्यक्ष पदमा निलिमा पौडेलले ७९ मत ल्याई आफ्नो प्रतिस्पर्धी कविता खड्काले ७७ मत ल्याएर २ मतको झिनो अन्तरले पराजित भएकी छन् ।
सचिव पदमा विजय चौहानले ६१ मत प्राप्त गर्दै विजयी भयो र उनका निकटतम प्रतिस्पर्धी मनोज कुमार पटेलले ४९ मत ल्याएका छन् । सहसचिव (खुला) पदमा अजय कुमार चौरसिया ७७ मतसहित निर्वाचित हुँदा प्रतिद्वन्द्वी उदय कुमार दासले ७६ मत प्राप्त गरेका छन् । सहसचिव (समावेशी) पदमा एसके चौरसियाले ६२ मत ल्याएर विजय प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी इरफान अलीले ५१ मत ल्याएका छन् ।

कोषाध्यक्ष पदमा सञ्जीव कुमार मिश्रले ६५ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी अमित कुमार साहलाई ३१ मतको अन्तरले पराजित गरेका छन् ।
महिला सदस्य पदमा कमला भण्डारीले ८२ मत प्राप्त गरी विजयी भएकी छन् भने निकटतम प्रतिस्पर्धी विमला गुप्ताले ७२ मत ल्याएकी छन् । भण्डारीले १० मतको स्पष्ट अन्तरले विजय हासिल गरेकी हुन् ।

आदिवासी जनजाति सदस्यतर्फ अजित कुमार भुजेल ६१ मतसहित निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी रश्मि राजभण्डारीले ५० मत प्राप्त गरेकी छन् । मधेसी सदस्यतर्फ आरोहण साह ६२ मत ल्याएर विजयी भएका छन् भने रञ्जित यादव ५१ मत ल्याएका छन् ।
खुला सदस्यतर्फ राहुल गुप्ता (५९), प्रमोद यादव (५१), श्याम कुशवाह (५४), रितेन्द्र झा (५०) लगायत विजयी भएका छन् ।


