वीरगञ्ज । पर्सागढी नगरपालिका–४ बर्वाटाँडी निवासी ४२ वर्षीय नरेश राई रसुवा जिल्लामा बाढीपछि सम्पर्कविहीन भएपछि सांसद शुसिल कानु पीडित परिवारको घरमा पुगेर परिवारजनलाई भेटी सान्त्वना दिनुभएको छ।

राई बुधबार बिहान रसुवा जिल्ला उत्तरगया गाउँपालिका क्षेत्रमा पर्ने शान्ति बजारबाट करिब ७ किलोमिटर अगाडि नयाँ पुलमा ट्रक अनलोड गर्ने क्रममा बाढीको प्रकोपपछि बिहान ८:४७ बजेदेखि सम्पर्कविहीन हुनुभएको परिवारले जनाएको छ। उहाँ ट्रक चालकका रूपमा कार्यरत हुनुहुन्थ्यो। उहाँले चलाउने ट्रकको नम्बर ना.७ ख ७२२७ रहेको बताइएको छ।
पीडित परिवारसँग भेट गर्दै सांसद कानुले आफू परिवारको दुःख–सुखमा सधैँ सहभागी रहने बताउनुभयो। उहाँले बेपत्ता राईको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग आवश्यक पहल गर्ने र सरकारबाट उपलब्ध हुन सक्ने सहयोगका लागि समेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
सांसद कानुले विपद्को यस कठिन घडीमा परिवारलाई धैर्य गर्न आग्रह गर्दै बेपत्ता राईको खोजीका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने बताउनुभएको छ।


