४ माघ,काठमाडौं| नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको ५ महिनामा मात्रै नेपाली विद्यार्थीहरूले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्।

भ्रमण खर्चमा पनि उल्लेख्य वृद्धि भई चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले बढेर ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यसमा शिक्षातर्फको व्यय मात्र ४७ अर्ब ४१ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड थियो भनि नेपाल राष्ट्र बैंकका तथ्यांकले देखाउछ ।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सेवा व्यापारको सन्दर्भमा, गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको देखाउँछ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा २६ अर्ब ५५ करोड रुपैयाँ थियो।
भ्रमण आय भने ३.१ % ले वृद्धि भएर ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण आय ३४ अर्ब १२ करोड रुपैयाँ मात्र रहेको थियो।
विदेशी अध्ययन र भ्रमणमा बढ्दो खर्चले देशको सेवा व्यापार घाटामा थप दबाब परेको स्पष्ट देखिन्छ।




