९ माघ,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज जिल्ला अदालत रुपन्देहीमा भएको छ।

बहस नसकिएपछि रविलाई श्रीमती निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाएर पठाएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले बताए।
भोलि उनलाई १० बजे अदालतमा उपस्थित गराउने र भोलि नै बहस सुरुहुने पनि ज्ञवालीले बताए।
सुप्रिम सहकारीको ठगीसम्बन्धी अभियोगको प्रतिवाद गर्न बुधबार आफै अदालतमा हाजिर भएका लामिछानेलाई जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमाले हिरासतमा नराखि परिवारको जिम्मा लगाइदिएको हो।
न्यायाधीश योगीको इजलासमा दिनभर उनको बयान लिइएको थियो। साँझ ५ बजेपछिसम्म बयान गराएर सकिएको थियो।
थुनछेकसम्बन्धी बहसका लागि बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउन भनिएको छ।
गएको आइतबार लामिछानेसहित २२ जनालाई प्रतिवादी बनाएर सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो। पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८४२ रुपैयाँ बिगो कायम गरिएको छ।
दोस्रो चरणको अनुसन्धानपछि पहिलो चरणमा प्रतिवादी बनाइएकाहरूलाई पनि कसुर र बिगो थप गरेर प्रतिवादी बनाइएको छ।
कुमार रम्तेल, शिवबहादुर गुरुङ, छविलाल जोशी, रवि लामिछाने, लक्ष्मीप्रसाद पौडेल, दिपक लामा, अनन्तबाबु राई, श्रीवल्लभ नेपाल, शिवप्रसाद पौडेल, वीरबहादुर रानाभाट, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, नरेश जिसी, गितेन्द्रबाबु राई, भुपेन्द्र राई, देवेन्द्रबाबु राई, सागर केसी, नवीन अछामी, असरफ अलि सिद्दिकी र हेमन्त अधिकारीलाई प्रतिवादी छन्।
तर यीमध्ये दुई जनाबाहेक सबै फरार छन्। दुई जना जिल्ला कारागार कास्कीमा छन्।
रविलाई गोर्खा मिडियामा जाँदा लिएको सेयरको २ करोड र गोर्खा मिडियामा सहकारीबाट लगिएको १० करोड ९९ लाख रुपैयाँमा बिगो भराउनु पर्ने सरकारी वकिलको माग दाबी रहेको छ। यो सबै गर्दा उनको नाममा साढे ४ करोडजति बिगो कायम हुन आउँछ।



