४फागुन ,काठमाडौं| बाराको कलैयामा भएको घटनाप्रति प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीले दु:ख व्यक्त गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।

कलैया उपमहानगरपालिकामा सञ्चालित ‘नवजन्म पुनःस्थापना केन्द्र’ मा आश्रीत बाराको कलैयाका प्रदीपप्रसाद मण्डल (धिरेन्द्र) माथि अमानवीय र सामूहिक रूपमा निर्घात कुटपिट गरी हत्या गरिएको घटनाले जिल्लाभरि स्तब्ध बनाएको छ।
संसद बैठकमा बोल्दै घटनाको गम्भीर निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने शोकाकुल परिवारजनमा समवेदना सांसद मैनालीले प्रकट गरेका छन्।
उनले लागू औषध प्रयोगकर्ताहरूका लागि सञ्चालन गरिएका सुधार तथा पुनःस्थापना केन्द्रहरूमा नियमित अनुगमनको आवश्यकतामा जोड दिँदै भने, “यस्ता सुधार गृहहरूका नाममा अमानवीय गतिविधि स्वीकार्य छैन । नियामक निकायले प्रभावकारी अनुगमन नगर्दा यस्ता हृदयविदारक घटना दोहोरिरहेका छन् ।”
उनले ‘लागू औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनःस्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५’ अनुसार सरकारको तिनै तहको लगानी तथा व्यवस्थापन भए पनि सुधार गृहहरूको वास्तविक अवस्था नियमन गर्न जरुरी रहेको बताए।
सांसद मैनालीले देशभरका पुनःस्थापना केन्द्रहरूको निगरानी र अनुगमन गर्नुपर्ने आवश्यकता औंल्याउँदै संसदमा भने, “सुधार गृह यातना गृहमा परिणत भएको छ । यस्ता किसिमका घटना दोहोरिन नदिनका लागि पनि संसदको ध्यानाकर्षण गराएको छु । नियामक निकायले प्रभावकारी अनुगमन गर्न जरुरी छ ।”
सांसद मैनालीले सभ्य समाज निर्माणका लागि यस्ता घटनाको पुनरावृत्ति रोक्न सरकारको ध्यानाकर्षण गराउँदै जिल्लाको सदरमुकामजस्तो संवेदनशील क्षेत्रमा पुनः यस्तो घटना नदोहोरियोस् भन्नका लागि कडा निगरानी र कानुनी कारबाही गर्नुपर्ने माग पनि गरेका छन्।


