Lucky-Khabar_

पर्सामा नागरिकता सिफारिस नगरेको झोकमा वडा कार्यालय तोडफोड

राम आर्य,
२७ चैत,वीरगञ्ज । पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–४ को कार्यालयमा नागरिकता सिफारिस नगरेको झोकमा वडा कार्यालय तोडफोड भएको छ। गाउँपालिका अध्यक्ष जसवन्त यादवका अनुसार गएराति अज्ञात ५/६ जनाको समूहद्वारा वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेका हुन्।

content ad p2

अध्यक्ष यादवका अनुसार, तोडफोडकारी समूहले कार्यालयको ताला फोडेर अफिसियल कागजात समेत चोरी गरी लगेको देखिएको छ। कार्यालयभित्र रहेका दराज, टेबल, पंखा र कुर्सी लगायतका सामग्री पूर्ण रूपमा क्षति पु¥याइएको छ। तोडफोडमा संलग्न समूहमाथि किटानी जाहेरी दिने तयारी भइरहेको अध्यक्ष यादवले बताएका छन्।

प्रारम्भिक अनुमान अनुसार, एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस नगरिदिएको झोकमा उक्त समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका गरिएको छ। अध्यक्ष यादवले भने, ‘एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस गर्न वडाध्यक्षज्यूमाथि दबाब आएको भन्ने सुनेको छु। भारतीय नागरिकलाई कसरी सिफारिस दिन सकिन्छ र? वडाध्यक्षज्यूले ती व्यक्तिहरूमाथि मुद्दा दिने तयारी गरिरहनु भएको जानकारी पाएको छु।’

वडाध्यक्ष आरिफ अन्सारीले रातिको समयमा प्रवेश गरेको ५÷६ जनाको समूहले १२ वटा कुर्सी, ३ वटा दराज तोडफोड गर्नुका साथै लेटरप्याड, छाप र ल्याप्टप समेत चोरी गरेर लगेको बताएका छन्। उनले भने, ‘६ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिन दबाब आइरहेको थियो। सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो। तिनै समूहले राति तोडफोड गरेका हुन्। उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु।’

पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले वडा कार्यालय तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। घटनाको विस्तृत अनुसन्धान थालेको छ।

सम्बन्धित खबर

कोल्हबीमा दुई थान भरुवा बन्दुकसहित वन्यजन्तुका अंग बरामद

लक्की खबर

रौतहटमा माछा फार्मका कामदारमाथि छुरा प्रहार, मेलमिलाप गराउन खोजिएको पीडित पक्षको आरोप

लक्की खबर

रौतहटमा १८ वर्षीया युवती मृत फेला, दाइजोको दबाब र हत्या आरोपबारे प्रहरीले अनुसन्धान गर्दै

लक्की खबर