Lucky-Khabar_

वीरगंजमा अव्यवस्थित सवारी तथा संरचनाविरुद्ध महानगरको कडाइ : बेवारिसे साधन हटाउने अभियान तीव्र

राम आर्य
२९बैसाख,वीरगंज| वीरगंज महानगरपालिकाले सार्वजनिक स्थानहरूमा वर्षौंदेखि जथाभावी रूपमा थन्काइएका बेवारिसे सवारी साधन तथा संरचनाहरू हटाउने अभियानलाई थप तीव्र बनाएको छ। सडक, फुटपाथ र अन्य सार्वजनिक स्थलहरूलाई पैदलयात्री तथा सवारी सञ्चालनका लागि सहज बनाउन सुरु गरिएको यस अभियानले अब निरन्तरता पाउने भएको छ।

सोही अभियान अन्तर्गत सोमबार जगरनाथपुर वडा नम्बर २२ मा सडकको फुटपाथमा झण्डै दुई वर्षदेखि बेवारिसे रूपमा थन्काएर राखिएको एउटा पुरानो रोलर हटाइएको हो। नगर प्रहरी र सरसफाइ शाखाको टोलीले दुईवटा क्रेनको सहायताले रोलरलाई ट्रकमा लोड गरी महानगरको डम्पिङ साइटमा स्थानान्तरण गरेको नगर प्रहरी इन्चार्ज हरि भुषालले जानकारी दिनुभयो।

content ad p2

यसैगरी, बसपार्क क्षेत्रमा लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका १/१ वटा पुराना बस र ट्रक पनि आजै हटाइएको छ। क्रेन प्रयोग गरी ती बस र ट्रकहरू पनि डम्पिङ साइटमा पु-र्याइएको छ। यसअघि गत बुधबार पनि बसपार्कबाट दुई वटा बेवारिसे बसहरू हटाइएको थियो।

महानगर प्रमुख राजेशमान सिंहले यस अभियानलाई निरन्तर अगाडि बढाइने स्पष्ट पार्दै भन्नुभयो, “हामीले पटक–पटक सार्वजनिक सूचना मार्फत यस्ता साधन हटाउन आग्रह गरेका थियौं। तर आग्रहको पालना नगरेपछि महानगर आफैंले नियन्त्रणमा लिएर हटाउन बाध्य भयौं।”

महानगरपालिकाले सडक, फुटपाथ, चोक, पार्क, बसपार्क र अन्य सार्वजनिक स्थानहरूमा अव्यवस्थित रूपमा राखिएका वा प्रयोगमा नरहेका सवारी साधन तथा संरचनाहरूले नगरको सौन्दर्य र नागरिक आवागमनमा बाधा पुगेको निष्कर्ष निकाल्दै ती हटाउने कार्यलाई प्राथमिकता दिएको हो।

प्रमुख सिंहका अनुसार, वीरगंजलाई सफा, सुरक्षित, सुन्दर र आधुनिक शहरमा रूपान्तरण गर्न यस्ता बाधक तत्वहरू हटाउनु आवश्यक भएको छ। “यो शहर हामी सबैको साझा घर हो। नागरिकले नियम पालन गरेमा हामी वीरगंजलाई व्यवस्थित महानगरमा रूपान्तरण गर्न सक्छौं,” उहाँले भन्नुभयो।

महानगरले अहिले ‘शून्य सहनशीलता’ को नीति अपनाउँदै सार्वजनिक स्थानहरूमा हुने लापरवाही र अतिक्रमणविरुद्ध कडा र स्पष्ट कदम चाल्ने चेतावनी पनि दिएको छ।

यात्रुहरू, पैदलयात्री, साना व्यवसायी, ट्राफिक प्रहरी, यातायात व्यवसायी तथा स्थानीय बासिन्दासँगको सहकार्यमा अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजाने योजनामा महानगर जुटिरहेको छ।

महानगरपालिकाले आगामी दिनमा अन्य वडाहरूमा समेत यस्ता बेवारिसे तथा अव्यवस्थित संरचना तथा सवारी साधनहरू पहिचान गरी चरणबद्ध रूपमा हटाउने कार्यलाई निरन्तरता दिने जनाएको छ।

यो अभियानले वीरगंजको सडक क्षेत्रलाई खुला, सुरक्षित र व्यवस्थित बनाउँदै, शहरको समग्र स्वरूपमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

वार्षिक समीक्षा गोष्ठीमा पाँच स्वास्थ्य संस्था सम्मानित, प्रगतिमा आंशिक कमी

लक्की खबर

वीरगन्जमा अव्यवस्थित तार व्यवस्थापन अभियान सुरु हुँदै, शंकराचार्य गेटदेखि ईदगाह चौकसम्म पहिलो चरण

लक्की खबर

मोहम्मद जयन्तीमा वीरगञ्जका विद्यालयमा सार्वजनिक बिदा, महानगरको कामकाज यथावत

लक्की खबर