३साउन,काठमाडौ । मोरङको कटहरी गाउँपालिका–३ सहनी टोलमा सोमबार राति दोहोरो झडप हुँदा हतियार प्रहार, एक जना घाइते भएको छ। ।

जिल्ला प्रहरी कार्यालय मोरङआ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार धारिलो हतियार प्रहारबाट कटहरी–४ का २७ वर्षीय शेख आजम घाइते भएका छन्। घाँटीमा चोट लागेका उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराट नर्सिङ रेफर गरिएको छ।
चुँडालले बताए अनुसार आईसीयूमा उपचाररत आजमको अवस्था मध्यम रहेको छ। उनीमाथि कुन हतियार प्रहार गरिएको हो भनेर यकिन छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ। चुँडालका अनुसार सोमबार राति आजम र कटहरी–३ का २० वर्षीय विभीषण सहनीबीच विवाद भएको थियो। प्रहरीका अनुसार आजम ८–१० जना युवासहित सहनीसँग झगडा गर्न पुगेका थिए।

झडपपछी सहनी पक्षका मान्छे भेला भएर आजम पक्षलाई लखेटेको थियो। त्यही क्रममा उनीमाथि धारिलो हतियार प्रहार गरेको पाइएको डीएसपी चुँडालले बताइन्। उनका अनुसार घटनामा संलग्न भएको आशंकामा अन्दाजी २५ वर्षीय कृष्ण सहनी पक्राउ परेका छन्।
उनी झगडामा संलग्न भनिएका विभीषणका दाजु हुन्। विभीषणलगायत घटनामा संलग्न अरु फरार रहेको र खोजी तीव्र पारिएको जानकारी डीएसपी चुँडालले दिइन्। घटनामा संलग्नको खोजीका लागि व्यापक प्रहरी परिचालन गरेर विभिन्न कोणबाट घटनाको अनुसन्धान अघि बढाइएको उनको भनाइ छ।



