काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको जेन–जी आन्दोलन का क्रममा भएको लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरू “विदेशबाट आएका होइनन्, देशकै हुन्” भन्ने टिप्पणी गरेका छन्।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भने,“हामीले देशका सन्तानहरूलाई संरक्षण गर्नुपर्छ, तर आन्दोलनको नाममा राज्य र जनताको सम्पत्ति नष्ट गर्नेहरूलाई कानुनी कारबाही हुनुपर्छ। यस्ता गतिविधि बाहिरबाट नभई यतैका केही असन्तुष्ट र भडकिएका युवाबाट भएका हुन्।”

उनले आन्दोलनका निहुँमा भएको हिंसात्मक गतिविधिले लोकतान्त्रिक आन्दोलनको अर्थ हराएको बताउँदै राजनीतिक दलहरू र सरकारलाई संयमित तर दृढ भएर शान्ति–सुरक्षा कायम गर्न आग्रह गरे।

ओलीले थपे,“आन्दोलनको अधिकार सबैलाई छ, तर त्यही नाममा लुटपाट, आगजनी र तोडफोड गर्ने प्रवृत्तिलाई सहनु हुँदैन। यो हाम्रो देशको समस्या हो, हामीले नै समाधान गर्नुपर्छ।”
उनको भनाइ अनुसार, देशमा असन्तुष्ट युवाहरूलाई सही मार्गदर्शन र रोजगारीका अवसरहरू प्रदान गर्न सके आन्दोलनहरूलाई सकारात्मक दिशामा लैजान सकिन्छ।


