काठमाडौं । दिदीबहिनी नहुने भाइबहिनीका लागि काठमाडौंको ऐतिहासिक रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा आज सामूहिक भाइटीकाको रौनक छाएको छ। हरेक वर्ष जस्तै यस वर्ष पनि भाइटीका दिन बिहानैदेखि दिदीबहिनीविहीन भाइहरू यहाँ टीका लगाउन आउने क्रम जारी छ।

रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर वर्षमा यही दिन—भाइटीका (यम द्वितीया) मा मात्र सर्वसाधारणका लागि खुला गरिन्छ। अन्य दिनहरूमा यो मन्दिर बन्द रहने परम्परा छ।दिदीबहिनी नभएकाले घरमा टीका लगाउने अवसर नपाउने भाइहरूले यहाँ पुगेपछि मन्दिरमा पूजा–अर्चना गरी भगवान बालगोपालेश्वरको आशीर्वादसहित टीका लगाउने परम्परा रही आएको छ।

टीकाको लागि बिहानैदेखि मन्दिर वरिपरि लामो लाइन लाग्ने गर्छ। भक्तजनले भाइटीकाको शुभ साइतमा टिका, अक्षता, र माला ग्रहण गर्दै आपसी सद्भाव र दीर्घायुको कामना गर्छन्।रानीपोखरीमा भाइटीकाको यो परम्परा राजा प्रताप मल्लले आफ्ना दिवंगत छोराको सम्झनामा बनाएको पोखरी र मन्दिरसँग जोडिएको मानिन्छ। इतिहासकारहरूका अनुसार यो परम्परा तीन सय वर्षभन्दा पुरानो हो।


