कलैया, देशभर दीपावली र तिहारको रंगीन माहोल चलिरहँदा बाराको कलैया बजारका युवाहरूले भने फरक तरिकाले तिहार मनाएका छन्। उनीहरूले साँस्कृतिक पर्वमा रमाइलो र आतिसबाजी गर्नुभन्दा समाजिक जिम्मेवारी र नागरिक चेतनाको उदाहरण प्रस्तुत गर्दै जीर्ण सडक मर्मतका मागमा हस्ताक्षर अभियान सुरु गरेका छन्।

शहरका मुख्य सडकहरू वर्षौंदेखि बिग्रिएका र धुलो–हिलोले दैनिक जीवन प्रभावित भएको भन्दै युवाहरूले तिहारकै दिनदेखि “कलैया हिँड्ने होइन, हिँड्न सक्ने शहर बनाऊँ” नारासहित अभियान थालेका हुन्।

युवा अभियन्ता सौरभ यादवका अनुसार, “हामीले फूल, माला र दीयोको सट्टा आज कलैयाको पीडा उठाएका छौं। सडक मर्मतबिना यो शहरले विकासको बाटो समात्दैन।” उनका अनुसार, केही दिनभित्रै हजारौं स्थानीय बासिन्दाबाट हस्ताक्षर संकलन गरी नगरपालिकालाई बुझाउने योजना छ।

अभियानमा विद्यार्थी, व्यापारी, र स्थानीय महिला समूहहरूको पनि उत्साहजनक सहभागिता देखिएको छ। सामाजिक सञ्जालमा पनि #FixKalaiyaRoads ह्यासट्याग ट्रेन्ड हुन थालेको छ।
स्थानीयवासीले भने, “पर्वमा पनि युवाले यस्तो सकारात्मक पहल गर्नु गर्वको कुरा हो। आशा छ, अब सम्बन्धित निकायले सडक मर्मतमा गम्भीरता देखाउँछ।”


