वीरगञ्ज । नेकपा एमालेका नेता तथा बारा–४ का पूर्वसांसद किसान श्रेष्ठले जेनजी समूहका अगुवा सुदन गुरुङले आफ्नो घरमा आएर फेरि घर जलाउने चेतावनी दिएको दाबी गरेका छन्। शनिबार बिहान गुरुङसहितका केही युवक श्रेष्ठको सिमरा स्थित निवास पुगे पनि श्रेष्ठ काठमाडौंमा भएका कारण उनीहरूसँग प्रत्यक्ष भेट हुन सकेन।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले भने आफूहरूले कुनै धम्की नदिएको तर श्रेष्ठले जेनजीका युवामाथि दवाव सिर्जना गर्दै आएको आरोप लगाए।

श्रेष्ठले भने सामाजिक सञ्जालमार्फत मंसिर ६ गते गुरुङ आफ्नै घर परिसरमा प्रवेश गरी कामदारहरूलाई डराएको र पुनः घर जलाइदिने धम्की दिएको लेख्दै त्यस घटनाप्रति कडा आपत्ति जनाएका छन्। उनले नेपाल सरकार र स्थानीय प्रशासनलाई शान्ति–सुरक्षाको प्रभावकारी व्यवस्था गर्न आग्रह पनि गरेका छन्।

यसअघि मंसिर ३ र ४ गते सिमरामा भएका झडपप्रति दुःख व्यक्त गर्दै श्रेष्ठले घाइतेहरूको उपचार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।


