जनकपुरधाम | जनकपुरमा सीताराम विवाहपञ्चमी महोत्सवको मूल कार्यक्रम वैवाहिक समारोहमा भाग लिन अहिले लाखौं श्रद्धालुहरूको घुइँचो लागेको छ।

महोत्सवको छैठों दिन मंगलबार जानकी मन्दिरबाट निस्केको माता सीताको डोला र राम मन्दिरबाट निस्केको भगवान रामको डोला ऐतिहासिक रंगभूमि मैदानमा गएर एक अर्काको परिक्रमा गरी स्वयम्बर विधि सम्पन्न गरिएको हो।

स्वयम्बर कार्यक्रमका लागि मन्दिरहरुबाट निकालिएको डोलासँगै लाखौंको संख्यामा रहेका श्रद्धालुहरूले जनकपुर नगर परिक्रमा गरेका थिए। स्वयम्बर कार्यक्रम चलिरहँदा हेलिकोप्टरबाट डोलाहरुमाथि पुष्पविष्टि पनि गरिएको थियो। अहिले डोलाहरू आ-आफ्नो मन्दिरमा फर्किएका छन्।

जानकी मन्दिरको बाहिरी प्रांगणमा बनाइएको भव्य मण्डपमा सीतारामको विवाह कार्यक्रम मैथिली विवाह विधान अनुसार साँझ सम्पन्न गरिने छ। अद्भुत विवाह समारोहमा सहभागी हुन नेपाल र भारतका विशिष्ट व्यक्तित्व, साधुसन्त र सर्वसाधारण श्रद्धालुहरूले जनकपुर भरिभराउ छ।


