काठमाडौँ । नेपाली कांग्रेसभित्र महाधिवेशनसम्बन्धी उत्पन्न तनाव चरम बिन्दुतिर पुगेपछि बिहीबार बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि नै नेताहरू समाधान खोज्न सक्रिय बनेका छन्।

सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का आ–आफ्नो समूहमै छलफलमा व्यस्त रहँदा विवाद साम्य पार्ने प्रयास भने थप जटिल बन्दै गएको छ। संस्थापन पक्षले पुस मसान्तभित्र नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने प्रस्ताव अघि सारे पनि त्यससँगै एक कडा सर्त राखिएको छ—महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले असोज २९ गते दर्ता गराएको विशेष महाधिवेशनको मागपत्र फिर्ता गरिनु पर्ने।

तर, यो सर्तलाई विशेष महाधिवेशन आग्रहकर्ता समूहले सिधै अस्वीकार गरेको छ। उनीहरूको भनाइमा, समयमै नियमित महाधिवेशन सम्पन्न हुने हो भने विशेष महाधिवेशनको माग स्वभाविक रूपमा नै निष्प्रभावी हुने भएकाले फिर्ता लिनुपर्ने आवश्यकता नै पर्दैन। नेता देवराज चालिसेले त निवेदन फिर्ताको अडानले संस्थापन पक्ष महाधिवेशन गर्ने वास्तविक इच्छुक नभई केवल तालिका देखाएर विवाद थाम्ने प्रयत्नमा रहेको आशंका उत्पन्न भएको टिप्पणीसमेत गरेका छन्।
विधानअनुसार निर्वाचनअघि महाधिवेशन नगरेको दोषबाट बच्न देउवा तालिका ल्याउन इच्छुक देखिए पनि, निवेदन फिर्ता गर्ने शर्तकै कारण सहमति निर्माणमा बाधा परेको छ।
यसैबीच, विशेष महाधिवेशन माग गरेका प्रतिनिधिहरू आजै राजधानीमा भेला हुँदैछन्। देउवा, खड्का, थापा, शर्मा र शेखर कोइरालाबीच हुने भनिएको वार्ताले विवाद समाधानतिर अग्रसर हुने कि झन् जटिल बनाउने भन्नेबारे चासो बढेको छ।


