वीरगञ्ज | लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा वडा प्रहरी कार्यालय विर्ता, पर्सा र सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले संयुक्त रूपमा वीरगञ्ज महानगरपालिका–५ स्थित मुनलाईट स्कुलमा दाइजो प्रथा तथा बालविवाहसम्बन्धी जनचेतनामूलक प्रशिक्षण आयोजना गरेका छन्।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षकका रूपमा सहभागी प्रहरी निरीक्षक बिक्रम सुवेदीले कक्षा ९ का विद्यार्थीहरूलाई दाइजो प्रथाले पार्ने सामाजिक, आर्थिक र मानसिक प्रभावबारे विस्तृत रूपमा जानकारी गराउँदै दाइजो लिन–दिनु कानूनी रूपमा सजाययोग्य अपराध भएको उल्लेख गरे। उनले बालविवाहले किशोरीहरूको स्वास्थ्यमा गम्भीर असर पार्ने, शिक्षा अधुरो बन्ने र घरेलु हिंसा बढ्ने सम्भावना उच्च हुने बताउँदै यसको रोकथाममा विद्यार्थी स्वयंले महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिए।

निरीक्षक सुवेदीले लैंगिक हिंसा नियन्त्रणमा समुदाय र प्रहरीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै युवाहरू सामाजिक परिवर्तनका प्रमुख शक्ति भएकाले हानिकारक संस्कार र व्यवहारविरुद्ध सचेतना फैलाउन आग्रह गरे।

कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए। कार्यक्रममा स्कुलका निर्देशक सुल्भ केसी, समाजसेवी सुशील बर्णवाल, सञ्जु दाहाल, श्याम केसीलगायतको सक्रिय उपस्थिति रहेको थियो।


